रोनाल्डोको अल नासरलाई हराउँदै अल हिलालले जित्यो किंग्स कपको उपाधि

एजेन्सी

शनिबार, १९ जेठ २०८१, ०९ : ०४
रोनाल्डोको अल नासरलाई हराउँदै अल हिलालले जित्यो किंग्स कपको उपाधि

एजेन्सी । अल नासरलाई हराउँदै अल हिलालले किंग्स कपको उपाधि जितेको छ । 

किंग अब्दुल्ला स्पोर्ट्स सिटीमा भएको फाइनलमा अल नासरलाई सडन डेथमा ५-४ गोल अन्तरले हराउँदै अल हिलालले किंग्स कपको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा थकेलिएको थियो । तर, अतिरिक्त ३० मिनेटको खेल पनि बराबरीमै सकिएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । 

खेलमा सुरुवाती अग्रता भने अल हिलालले नै लिएको थियो । खेलको सातौँ मिनेटमा एलेक्सान्दर मिट्रोभिकले गोल गर्दै अल हिलाललाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ५६औँ मिनेटमा गोलकिपर डेभिड ओस्पिना रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अल नासर १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि खेलको ८७औँ मिनेटमा अल हिलालका अली अल-बुलही रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अल हिलाल पनि १० खेलाडीमा सीमित भयो । 

त्यसको एक मिनेटपछि खेलको ८८औँ मिनेटमा अल नासरका लागि अयमान याहयाले बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । खेलको ९० औँ मिनेटमा कालिडो कोलीबलीले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छोडेपछि अल हिलाल ९ खेलाडीमा सीमित भएको थियो ।

पेनाल्टीमा अल हिलालका लागि पेनाल्टीमा अब्दुल्लाह अल हमदान, हसन अल्ताम्बक्ति, मोहम्मद कान्नो, एलेक्सान्डर मिट्रोभिक र नासेर अल्दवसारीले गोल गरेका थिए । रुवेन नेभेस र साउद अब्दुलहमिद भने गोल गर्न असफल रहे ।

अल नासरका लागि पेनाल्टीमा क्रिस्टियानो रोनाल्डो, अली लाजामी, अब्दुलरहमान घारीब र सामी अल-नजेईले गोल गरे । तर,  एलेक्स टेल्स, अली अलहसन  र मेसारी अल-नेमर भने गोल गर्न चुके ।

प्रतिक्रिया दिनुहोस