बजेट वक्तव्य पढ्नुअघि संसदीय छानबिन समितिमा सहमति हुन्छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, १३ जेठ २०८१, १३ : ४२
बजेट वक्तव्य पढ्नुअघि संसदीय छानबिन समितिमा सहमति हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ या भोलि बिहानसम्ममा संसदीय छानबिन समिति गठनमा सहमति जुट्ने दाबी गरेका छन् । संसदीय छानबिन समितिमा सबैको सहमति भएपनि कार्यादेश (टीओआर)मा लचक बन्न उनले आग्रह गरे ।

आइतवार प्रतिनिधिसभा बैठकमा सरकारका नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा प्रचण्डले जेठ १५ गते बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति जुट्ने बताएका हुन् । ‘मैले केही दिनदेखि लगातार सहमतिको प्रयास गरिरहेको छु, गतिरोध अन्त्यका लागि प्रयास भइरहेको छ ।

सहमति र समधmदारीको धेरै नजिक पुगेको थाहा छ,’ कांग्रेसको नाराबाजी चलिरहेको बैठकमा प्रचण्डले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेतासँग बूढानीलकण्ठमा पुगेर सहमतिको प्रयास गरेको छु । आज वा भोलि बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति जुटने विश्वास व्यक्त गर्छु ।’

 

प्रचण्डले समितिको टीओआरमा लचक बन्न आग्रह गरे । ‘भर्खरै रास्वपाका स्वर्णिम वाग्लेले पनि भन्नु भयो–छानबिन बनाउन आपत्ति छैन भनेर । टीओआर बनाउन लचकता प्रदर्शन गर्दा समझदारी हुनसक्छ,’ उनले भने ।कांग्रेसले टीओआरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने बताउँदै आएको छ ।  

प्रतिक्रिया दिनुहोस