सिरोहियालाई धरपकड गर्न लागेको भन्दै कान्तिपुर पुगे कांग्रेस नेता, गृहमन्त्रीले प्रतिशोध लिएको आरोप

सफल खबर संवाददाता

मंगलबार, ०८ जेठ २०८१, १५ : ४०
सिरोहियालाई धरपकड गर्न लागेको भन्दै कान्तिपुर पुगे कांग्रेस नेता, गृहमन्त्रीले प्रतिशोध लिएको आरोप

काठमाडौं। कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई धरपकड प्रयास गरिएको भन्दै नेपाली कांग्रेसका सांसद र नेताहरू कान्तिपुरको कार्यालय पुगेका छन् ।कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडा, दीपक गिरीलगायत कान्तिपुरको कार्यालय पुगेका हुन् ।

 

यस्तै सांसदहरू राजेन्द्र बजागाइँ, राजमान अधिकारी, चन्दा चौधरीलगायत सांसद कान्तिपुरको कार्यालय पुगेका हुन् ।प्रतिनिधि सभाको राज्यव्यवस्था समितिका सभापतिसमेत रहेका खतिवडाले समाचार लेखेकै भरमा अध्यक्ष सिरोहियाविरुद्ध प्रतिशोध साँधेर पक्राउ पुर्जी जारी गरिएको थाहा पाएपछि बुझ्न आएको बताए ।

‘कसैका दोहोरो पासपोर्ट हुँदा पनि छुटकारा पाउने, कसैलाई छानबिन नगरी पक्राउन खोज्ने सरकारको प्रवृत्ति सह्य छैन’, खतिवडाले भने ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाविरुद्ध मंगलवार पक्राउ पुर्जी जारी गरेको थियो ।अध्यक्ष सिरोहियाले पनि विज्ञप्ति प्रकाशित गरी सहकारी ठगी सम्बन्धमा श्रङ्खलाबद्ध समाचार लेखेकै कारण प्रतिशोध साँधिएको बताएका छन् ।

सांसद खतिवडाले कान्तिपुरको कार्यालय बाहिर प्रहरी पुगेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस