भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

रासस

शनिबार, ०५ जेठ २०८१, १६ : ३९
भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा बनेको उक्त ‘बेलिब्रिज’ आजदेखि सञ्चालनमा आएको हो ।

भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरअन्तर्गत तल्नुबगर बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । तीन वर्षअघि निर्माण सुरु भएको उक्त ‘बेलिब्रिज’ विविध कारणले ढिलासुस्ती भएको थियो । डोल्पाका राजनीतिक दल, प्रशासन, सुरक्षा निकाय र सञ्चारकर्मीको निरन्तर खबरदारीका कारण ‘बेलिब्रिज’ सञ्चालनमा ल्याउन सफल भएको प्रजिअ दाहालले बताए ।

“‘बेलिब्रिज’ सञ्चालनमा आएसँगै डोल्पासम्म सिधा सडक सञ्जाल जोडिएको छ, गाडी दुनैसम्म पुग्न थालिसकेका छन्, अब बर्खामा यातायात सञ्चालन गर्न भेरी करिडोरबीचका केही खोलाहरुमा ह्युमपाइप राख्न पहल भइरहेको छ”, प्रजिअ दाहालले भने । यो करिडोरले भारतको रुपैहिडियादेखि नेपालगञ्ज हुँदै चीनको सीमाक्षेत्र मोरिम्ला नाका जोड्ने भएकाले यस सडकलाई राष्ट्रिय महत्वको सडकको रुपमा लिइएको छ  । करिडोरअन्तर्गत तल्नुबगर, छलगार्ड र खदाङमा पक्की पुल निर्माण सुरु भएको छ ।

भेरी करिडोर कार्यालय जाजरकोटका नायब सुब्बा दत्त लामाले कार्यालयका प्राविधिक टोलीले शुक्रबार भारवाहन क्षमता परीक्षण गर्दा सफल भएको बताए । ‘बेलिब्रिज’ले २५ टनसम्म भार थेग्नसक्ने उनले जानकारी दिए । तीन वर्षअघि सडक डिभिजन कार्यालय चौहरजहारीले उक्त बेलिब्रिज निर्माणका लागि ठेक्का खुलाएको थियो । काम सुरु भएको तीन वर्षपछि ‘बेलिब्रिज’ सञ्चालनमा आएको हो ।

वि.सं २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले रु तीन करोड ८१ लाखमा ‘बेलिब्रिज’ निर्माणको जिम्मा पाएकोे थियो । विविध कारणले ‘बेलिब्रिज’ निर्माणमा ढिलासुस्ती भए पनि अहिले निर्माण सम्पन्न भइ  सञ्चालनमा आएको भेरी करिडोर कार्यालयका जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए । अब बाँकी खोलाहरुमा ह्युमपाइप राखेर डोल्पासम्म सिधा यातायात सञ्चालन गर्ने बिषयमा छलफल भइरहेको उनको भनाइ छ ।

भेरी करिडोर कार्यालयका अनुसार एक सय १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट डोल्पा सडकखण्डभित्रका ५६ किमी सडकमा अहिले काम भइरहेको छ । ६२ किमी सडक फराकिलो बनाउने काम सुरु गरिएको छ ।

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने करोपगार्ड, खदाङ¬, त्रिपुराकोटको ‘बेलिब्रिज’ यसअघि निर्माण भइसकेको छ ।  रुपगार्ड खोलाको ‘बेलिब्रिज’को काम सुरु भइसकेको छ । रुपगार्डको ‘बेलिब्रिज’ निर्माण भएपछि भेरी करिडोरअन्तर्गत पाँच वटा खोलाका पुल

बन्नेछन् । अझै सानातिना खोलामा गरेर आठ वटा खोलामा पुल बन्न बाँकी छ । गत वर्ष वैशाख ६ गते निर्माणाधीन तल्नुबगर बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस