गीत ‘कालोकालो कपालमा खैरो कलर लाकी’ सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, ०५ जेठ २०८१, १५ : ४५
गीत ‘कालोकालो कपालमा खैरो कलर लाकी’ सार्वजनिक

काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की अभिनीत रोमान्टिक गीत ‘कालोकालो कपालमा खैरो कलर लाकी’ सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटीको शब्द, संगीत, स्वर रहेको गीतमा सिवाकोटीलाई गायनमा गायिका मिलन नेवारले साथ दिएकी छन् ।

गीतको भिडियोको अभिनयमा प्रियंकालाई गम्भीर विष्टले साथ दिएका छन् । भिडियो निर्देशन समेत विष्टले नै गरेका हुन् । प्रियंकाको यो भिडियो सहित आरजे इन्टरटेन्मेन्टको औपचारिक युट्युब च्यानल सुरुवात गरिएको हो । सुरुवातको कोसेली स्वरूप आरजे इन्टरटेन्मेन्टले आनी छोइङ्डोल्माको स्वरमा ‘आकाश उज्यालो आकाशैको ताराले, जिन्दगी अँध्यारो लोभीपापी पाराले’ गीत र हाँस्यकलाकार राजेन्द्र नेपाली ‘लट्टे’को ‘हट पोटेटो’ नामक धारावाहिक कमेडी पनि बाहिर ल्याएको छ । 

‘रमाइलोको साथी’ नारा सहित सुरु भएको आरजे इन्टरटेन्मेन्ट दर्शकलाई विशुद्ध मनोरञ्जनका विभिन्न खुराक पस्कने उद्देश्यले ल्याइएको आरजे इन्टरटेन्मेन्टका सञ्चालन राजु केसीले बताए ।

गीत ‘आकाश उज्यालो..’मा राजनराज सिवाकोटीको संगीत तथा राजु केसीको शब्द छ । सार्वजनिक दुवै गीतको भिडियोका निर्माण सल्लाकार सुवासराज काफ्ले हुन् । आरजेले यो वर्ष आफ्नै लगानीमा २५ गीतसंगीत, २५ धारावाहिक सिरियल र २५ बाहिरको कन्टेन्ट गरेर ७५ कन्टेन्ट ल्याउने लक्ष्य बनाएको छ । 

प्रतिक्रिया दिनुहोस