नेपालमा पहिलो पटक फुस्रो सारौँ प्रजातिको चरा फेला

रासस

शुक्रबार, ०४ जेठ २०८१, १४ : ३१
नेपालमा पहिलो पटक फुस्रो सारौँ प्रजातिको चरा फेला

काठमाडौँ । नेपालमा पहिलो पटक फुस्रो सारौँ प्रजातिको चरा फेला परेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नेपालका लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको नेपाल पन्छीविद् संघले जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रको उपल्लो मुस्ताङ लोमान्थाङ स्थित ३ हजार ८ सय ४० मिटर उचाइमा नयाँ चरा फेला परेको संघले जनाएको छ । नेपालका चराविद् शंकर तिवारीले उक्त क्षेत्रमा विदेशी पाहुनासँगै चरा अवलोकन गर्दा २५ वैशाख बिहान ८ः४९ बजे नयाँ चरा देखेका थिए । त्यसपछि तिवारीले उक्त चराको तस्बिर खिचेर आफ्नो तर्फबाट प्रारम्भिक पहिचान गरे पनि यकिन हुन बाँकी थियो ।

संघका अनुसार ३१ वैशाखमा सो चराको यकिन पुष्ट्याइँका लागि नेपाल बर्ड कमिटी (एनबीआरसी) मा विवरण सहित चराको तस्बिर पठाइएको थियो । त्यसपछि नेपालमा भएका चराहरूको सूची र पन्छीविदहरूको छलफलपछि नयाँ चरा भेटिएका शुक्रबार पुष्टि भएको तिवारीले बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस