टी–२० विश्वकप क्रिकेट : औपचारिक अभ्यास खेलमा नेपालको प्रतिद्वन्द्वी क्यानडा र अमेरिका

सफल खबर संवाददाता

शुक्रबार, ०४ जेठ २०८१, १० : ४२
टी–२० विश्वकप क्रिकेट : औपचारिक अभ्यास खेलमा नेपालको प्रतिद्वन्द्वी क्यानडा र अमेरिका

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदै छ । प्रतियोगितामा २० राष्ट्रको सहभागिता रहेको छ ।

प्रतियोगितामा सहभागी हुन अधिकांश टोली आयोजक राष्ट्र पुग्नेक्रम जारी छ । नेपाली टोली पनि यसअघि नै अमेरिका पुगिसकेको छ । प्रतियोगिता सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले प्रत्येक टोलीलाई दुईवटा औपचारिक अभ्यास खेल खेलाउने कार्यक्रम तय गरेको छ ।

यस क्रममा नेपालले पनि प्रतियोगिता सुरु हुनुअघि दुईवटा अभ्यास खेल खेल्नेछ । तर, नेपालले अभ्यास खेलमा टेस्ट राष्ट्रलाई प्रतिद्वन्द्वीका रूपमा पाएन । अभ्यास खेल मे २७ देखि जुन १ तारिखसम्म अमेरिका र ट्रिनिडाड एन्ड टोबागोमा खेलिने आईसीसीले जनाएको छ ।

नेपालले आफ्नो पहिलो औपचारिक अभ्यास खेल मे २७ तारिखमा क्यानडासँग खेल्नेछ । उक्त खेल अमेरिकाको टेक्ससमा खेलिने छ । सोही दिन ओमान र पपुवा न्यु गिनी तथा नामिबिया र युगान्डाबिच पनि अभ्यास खेल हुनेछ । 

नेपालले आफ्नो दोस्रो अभ्यास खेल मे ३० तारिखमा आयोजक राष्ट्र अमेरिकासँग खेल्नेछ । उक्त खेल पनि टेक्ससमै खेलिने छ । सोही दिन स्कटल्यान्ड र युगान्डा, नेदरल्यान्ड्स र क्यानडा, नामिबिया र पपुवा न्यु गिनी तथा वेस्ट इन्डिज र अस्ट्रेलियाबिच अभ्यास खेल खेलिने छ ।

त्यसअघि मे २८ तारिखमा श्रीलङ्का र नेदरल्यान्ड्स, बङ्गलादेश र अमेरिका तथा अस्ट्रेलिया र नामिबियाबिच अभ्यास खेल खेलिने छ । मे २९ तारिखमा अफगानिस्तान र ओमानबिच अभ्यास खेल खेलिने छ । 

यसैगरी मे ३१ तारिखमा आयरल्यान्ड र श्रीलङ्का तथा अफगानिस्तान र स्कटल्यान्डबिच अभ्यास खेल हुनेछ । जुन १ तारिखमा बङ्गलादेशले भारतसँग अन्तिम अभ्यास खेल खेल्नेछ । सोही दिन टी–२० विश्वकपको नवौँ संस्करण पनि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस