कमरान अकमल भन्छन्, ‘पाकिस्तानले अब महिला टोलीसँग मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा हुन्छ’

सफल खबर संवाददाता

मंगलबार, २९ जेठ २०८१, १६ : ५३
कमरान अकमल भन्छन्, ‘पाकिस्तानले अब महिला टोलीसँग मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा हुन्छ’

काठमाडौँ । पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको पूर्वविजेता हो । तर, पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको प्रदर्शन अत्यन्तै निराशाजनक देखिन्छ। टी–२० विश्वकपको नवौँ संस्करणमा पनि पाकिस्तानी टोली निरीह अवस्थामा छ ।

जारी विश्वकपको समूह ‘ए’ मा रहेको पाकिस्तान आफूले खेलको दुबै खेलमा पराजित भएको छ । पाकिस्तानी टोली आफ्नो पहिलो खेलमा आयोजक अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा पाकिस्तानलाई चिर प्रतिद्वन्द्वी भारतले ६ रनले हराएको थियो ।

पाकिस्तानले मंगलबार राति क्यानडासँग तेस्रो खेल खेल्दैछ । उक्त खेलमा पराजित भए पाकिस्तानी टोली औपचारिकै रुपमा खेलबाट बाहिरिने छ । क्यानडाविरुद्धको तेस्रो खेलअघि पाकिस्तानी टोलीको पछिल्लो प्रदर्शनलाई लिए पाकिस्तकै एक पूर्वखेलाडीले नमिठो ब्यंग्य गरेका छन् ।

पाकिस्तानका पूर्वब्याट्सम्यान कमरान अकमलले बाबर आजमको कप्तानीमा रहेको वर्तमान पाकिस्तानी टोलीलाई महिलाको टोलीसँग मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुझाव दिएका छन् ।

कमरान अकमलले आफ्नै टोलीको विषयमा यस्तो टिप्पणी गरेपछि सामाजिक सञ्चालमा यसको ब्यापक चर्चा भइरहेको छ । ‘अब पाकिस्तानले पुरुष टोलीसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न छाड्नु पर्छ । अब पाकिस्तानको पुरुष क्रिकेट टोलीले महिला टोलीहरुसँग मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा हुन्छ,’ कमरान अकमलले भनेका छन् ।

उनले अहिले विश्वकप खेलिरहेको पाकिस्तानी टोलीमा रहेका केही खेलाडीको प्रदर्शन त अत्यन्तै कमजोर रहेको पनि उनले बताएका छन् । ‘हाम्रो टोलीमा रहेका केही खेलाडी त विश्वकप खेल्ने हैंसियतसम्म राख्दैनन्,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस