काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । आज आयोजनास्थल अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा सम्बद्ध पक्षबाट आयोजनाबारे जानकारी लिएपछि प्रधानमन्त्री दाहालले आयोजनामा आउन सक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै समाधान गर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
“बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्”, प्रधानमन्त्री दाहालले भने, “समयमै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला ।” उनले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न निर्देशन दिए ।
प्रधानमन्त्री दाहालले आयोजनामा राम्रो काम गर्ने कर्मचारीको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देशन दिए ।
सुरुङमार्गबाहेक अन्य निर्माणकार्य ‘ब्यारेज, पावरहाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन’ नदी नियन्त्रण र सामाजिक विकासको कार्यहरू पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले कार्ययोजना एवं खरिद गुरुयोजनाले निर्दिष्ट गरेअनुरूपका सम्पूर्ण कार्यहरू निर्धारित समयभित्रै पूरा गर्नुहोला भने ।
मरिन डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेट अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले आयोजनाको निर्माणकार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २६ बैशाख २०८१, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
समाजवाद उन्मुख शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्छ : प्रचण्ड
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड
सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम छन् : अध्यक्ष प्रचण्ड
परिवर्तनको संवाहक माओवादी नै हो भन्ने प्रस्ट भएको छ : प्रचण्ड
‘प्रचण्ड’ले गरे गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन