सत्ता गठबन्धन दायाँबायाँ गर्ने पक्षमा छैनौँ : झलनाथ खनाल

सफल खबर संवाददाता

आइतबार, २३ बैशाख २०८१, १४ : ३४
सत्ता गठबन्धन दायाँबायाँ गर्ने पक्षमा छैनौँ : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता समीकरण दायाँबायाँ गर्ने पक्षमा नेकपा एकीकृत समाजवादी नभएको बताएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गरी उनले वामपन्थी गठबन्धन बनाउने विषयमा पार्टीले गरेको संस्थागत निर्णयमा कुनै परिवर्तन नहुने बताएका हुन् ।उनले पार्टीको निर्णयविपरीत कुनै व्यक्ति विशेषले बाहिर बोल्नुभन्दा पनि आन्तरिक बैठकमा नै छलफल गर्नुपर्ने भनाइ राखे ।

‘वामपन्थी गठबन्धन बनाएर जाने भनेर नै एकीकृत समाजवादीले संस्थागत निर्णय गरेको हो । हामीले मन्त्रीहरूसमेत पठाइसकेका छौँ । यो सिलसिलामा कुनै व्यक्ति विशेषलाई केही कुरा मन लागेको छैन ।

चित्त बुझेको छैन भने त्यो पार्टीभित्रै छलफल गर्ने विषय हो । बाहिर बन्दै हिँड्ने विषय होइन’, प्रधानमन्त्रीसँग भेटपछि रातोपाटीसँग खनालले भने, ‘त्यस कारण हाम्रो पार्टी अहिले तलमाथि देब्रे दाहिने हुनेवाला छैन । अहिलेको गठबन्धनमा कुनै खतरा छैन ।’

भेटवार्तामा  गठबन्धनमा कुनै समस्या नभएकोमा प्रधानमन्त्री प्रचण्ड पनि निश्चिन्त भएको जानकारी दिए । वैकल्पिक गठबन्धनको पक्षमा अध्यक्ष माधव नेपालसहित उच्च नेताहरूले अभिव्यक्ति दिएपछि गठबन्धनमाथि सङ्कट आएको अनुमानबिच उनले प्रधानमन्त्रीलाई भेट गरेका हुन् । 

खनालले अहिले पार्टीको ध्यान सत्तामा भन्दा पनि महाधिवेशनतर्फ रहेको बताए ।

प्रतिक्रिया दिनुहोस