‘कुलनाशक’ देखिएपछि दीपेन्द्रको जन्मकुण्डली परिवर्तन

सफल खबर संवाददाता

शनिबार, ०६ असोज २०७५, ११ : २५
‘कुलनाशक’ देखिएपछि दीपेन्द्रको जन्मकुण्डली परिवर्तन

(नारायणहिटी राजदरबार हत्याकाण्डबारे पत्रकार देवप्रकाश त्रिपाठीको अनुसन्धानमा आधारित पुस्तक 'महानिशा'को धारावाहिक अंश-२)

एउटा राजाका निम्ति भूमि अर्थात् देश जति महत्वपूर्ण हुन्छ त्योभन्दा कम महत्वको हुँदैन उत्तराधिकारी । पुत्रबधुको गर्भमा प्रकट भएको पहिलो सन्तान पुत्र नै होस् र उत्तराधिकारी बन्न योग्य र उपयुक्त होस् भन्ने चाहना स्वाभाविक रूपले राजा महेन्द्रमा पनि थियो । तेस्रो पुस्ताको सन्तान पैदा हुने कुराले राजा महेन्द्रमा उत्पन्न खुसी चिन्तामा परिणत हुन धेरै दिन लागेको भने थिएन ।

जब राजज्योतिष र पण्डितहरूले नवसन्तान पैदा भएपछि आइपर्नसक्ने सङ्कटको बारेमा वर्णन गर्न थाले, तब राजा महेन्द्र र बडामहारानी रत्न चिन्तित बनेका थिए । नयाँ सन्तान अपशकुनयुक्त हुने ज्योतिषीय अनुमानपछि राजारानीले अनिष्टको निराकरण खोज्न थाले । यसक्रममा कसैले तान्त्रिक विधिद्वारा नियमित पूजा गरे भने ऐश्वर्यको गर्भमा आएको सन्तान शकुनयुक्त बन्न सक्ने सुझाव राजा महेन्द्रलाई दिए ।

रानी रत्न अलिक बढी नै छटपटीमा थिइन् । तान्त्रिक विधिद्वारा पूजा गर्नुपर्ने सुझाव आउनेबित्तिकै रत्नले तान्त्रिक धनशमशेरलाई सम्झिन् । यस कुराको जानकारी उनले माइतीलाई गराइन् । धनशमशेर नियमित रूपमा पाठपूजा गराउन तयार भए । एकपटक त मध्यरातमा पनि विशेष पूजा गराइएको थियो । धनशमशेरले भनेबमोजिम विधिअनुरूपको पूजा दरबारमा नियमित गरियो ।

युवराज्ञी ऐश्वर्य गर्भवती भएदेखि नै दरबारमा पटकपटक तान्त्रिक विधिअनुरूप पूजा गर्ने गरिएको थियो । पूजाबाट कुनै अनहोनी टार्न÷पन्छाउन सकिन्छ भन्नेमा राजा महेन्द्र विश्वास गर्दैनथे । तर, बडामहारानी रत्न यस्ता कर्मबाट अनिष्ट पन्छाउन सकिने विश्वास गर्दथिन् । बडामहारानीकै आत्मन्तुष्टिका लागि पनि राजा महेन्द्र तान्त्रिक ज्योतिषी र पण्डितहरूले भनेबमोजिम पूजा लगाइदिने गर्दथे । यसक्रममा तान्त्रिक धनशमशेर विशेष प्रभावी मानिएका थिए र धनशमशेरले भनेबमोजिम नै दरबारमा पूजा लगाउने गरिएको थियो ।

महिनैपिच्छे विशेष पाठ सुनाउने क्रम पनि दीपेन्द्रको जन्म नभइन्जेलसम्म चलिरहेकै थियो । तर, कुनै तन्त्र र पूजाको प्रभाव दीपेन्द्रमा पर्न सकेन । उनको जन्मपछि ज्योतिषीहरूले जन्मकुण्डली तयार गर्ने क्रममा उनीहरूले प्रस्टै देखे र लेखे ‘कुलनाशक’ । तर, नवयुवराजको कुण्डलीमा ‘कुलनाशक’ लेखिनुलाई राजपरिवारले उचित ठानेन र ज्योतिषीहरूलाई उक्त शब्द कुण्डलीबाट हटाउन निर्देश गऱ्यो ।

अरू ज्योतिषीहरू राजपरिवारको इच्छाअनुसार कुण्डलीमा ‘मेनुपुलेट’ गर्न तयार भए पनि पाटनका सुविख्यात ज्योतिषी दिव्यमंगल जोशीले मानेनन् । राजाकहाँ दीपेन्द्रको कुण्डली पेस गर्दा सहभागी सबै ज्योतिषीले दस्तखत गर्नुपर्ने थियो, तर जोशीले सही गरेनन् । कुण्डलीबाट ‘कुलनाशक’ शब्द हटाउँदैमा बालकको कर्म, चरित्र र भाग्य नबदलिने भएकोले त्यसलाई यथावत् राखौँ भन्ने भनाइ दिव्यमंगलको थियो ।

तर, भावी राजाका बारेमा नकारात्मक सन्देश जाने व्यहोरा जन्मकुण्डलीमै उल्लेख गरिनुलाई राजपरिवारले उचित मान्न खोजेन र राजपरिवारको चाहनाबाहिर जाने हिम्मत पनि दिव्यमंगल जोशीबाहेक अन्यले गर्न सकेनन् । अन्ततः दीपेन्द्रको जन्मकुण्डली बदलियो ।

दशैँ आउन लागेको थियो । साधारण नागरिकका घरमा दशैँ केटाकेटीलाई आउँछ, तर दरबारमा त्यहाँका कर्मचारी, धाई, सुसारे, द्वारपाल, चालक, बँगैचे र अन्य सुरक्षाकर्मीलाई आउने गर्थ्यो । दरबारका कामदारहरू दशैँमा राजाबाट बक्सिने उपहार र नगदका कारणले मात्र होइन राजाका नाममा तयार हुने मिष्ठान्न भोजनका परिकारहरूमा आफ्नोसमेत भाग लाग्ने कुराले उनीहरूलाई दशैँको आगमनले साँच्चै रोमाञ्चक र उल्लासमय तुल्याउँथ्यो ।

दरबारको सरसफाइ र रङरोगनका क्रममा प्राप्त हुने बक्सिसमा पनि धेरैको मन बसेको थियो । ठूलो तहका कर्मचारीले तराईमा जमिन र ठूलै नगद पनि राजाबाट हात पार्ने गर्दथे । दरबारमा दशैँ स्वागतको भव्य तयारी हुँदै थियो । राजारानी दरबारको पटाङ्गिनीमा बसेर कहिलेकाहीँ कामदारहरूलाई अह्राउने पनि गर्दथे ।

एक दिन मालीले सेतो गुलाब फुलिरहेको गमला उठाएर ठाउँ सार्ने क्रममा हातबाट चिप्लिएर गमला भुइँमा खस्यो र फुट्यो । राजारानी उक्त दृश्य हेरिरहेका थिए । महारानी चिच्याइन्, ‘लौ बर्बाद भयो !’

राजाले हाँस्दै भने, ‘के बर्बाद भयो ? एउटा गमला फुट्दैमा बर्बाद हुन्छ ?’

‘गमलाको कुरा होइन सरकार, यो अपशकुन हो । फूल फुलिरहेको गमला त्यसरी फुट्नु राम्रो होइन, त्यसैले बर्बाद भयो भनेकी ।’

‘छोड यस्ता कुरा, बरु जाऊँ भित्र हिँड,’ राजाले भने ।

‘मेरा कुरा त्यसै उडाइबक्सन्छ’ भन्दै महारानी राजाको पछिपछि बैठककक्षतिर लागिन् ।

दुवैजना आम्नेसाम्ने भएर सोफामा बसे । राजाले चुरोट निकालेर सल्काउँदै भने, ‘महारानी मलाई एउटा कुरा लागिरहेको छ, तिमीले सुझाव दिनुपऱ्यो ।’

‘के होला सरकार ? मेरै सुझाव चाहिने ?’

‘मेरो सबभन्दा पहिलो र भरपर्दो सल्लाहकार त तिमी नै हौ नि ।’

‘त्यसो भए मैले भनेका हरेक कुरा सरकारले मानिबक्सनुभएको छ त ?’

‘ल हेर ! सल्लाहकारले भनेको सबै त मान्न सकिँदैन नि, सल्लाहकारले भनेअनुसार सबै हुने भए त राजा किन चाहियो र ? त्यही सल्लाहकारलाई नै राजा बनाए भइहाल्छ नि, तर तिमीले भनेकोचाहिँ मैले सधैँ अत्यन्त गम्भीरतापूर्वक लिने गरेको छु ।’

‘लौ, भयो–भयो, हुकुम होस्, मैले के सुझाव गर्नुपऱ्यो ?’

‘युवराज वीरेन्द्र धेरै सोझो छ, यो षड्यन्त्रै–षड्यन्त्रको इतिहासले निरन्तरता पाएको मुलुक हो । फेरि दुवैतिरका छिमेकी मुलुकको पनि यहाँ धेरै चासो छ । भित्र र बाहिरका षड्यन्त्रलाई चिर्दै यो मुलुक चलाउन निकै मुस्किल छ महारानी । मपछि वीरेन्द्रले पञ्चायती व्यवस्था टिकाएर खान सक्लाजस्तो मलाई लाग्दैन ।’

‘महाराज, किन यस्तो मर्जी भएको ? ज्योतिषीको कुरामा सरकारलाई पनि विश्वास लाग्यो कि के हो ?’

‘होइन महारानी, भोलिको निम्ति सोचिराखे के फरक पर्छ र ? पञ्चायती व्यवस्थाको प्रादुर्भाव गर्न र यसलाई चलाउन केसम्म गर्नु परिरहेको थियो र छ भन्ने तिमीलाई राम्ररी थाहा छ । वीरेन्द सोझो भएकोले न उसले कसैको षड्यन्त्र बुझ्न सक्छ न कसैका विरुद्ध षड्यन्त्र नै रच्न सक्छ, त्यसैले केही नयाँ ‘स्टेप’ लिनुपर्छ कि भन्ने मलाई लागिरहेको छ ।’ (क्रमश)
 

यसअघि
अंश- १ : युवराजको जन्म र अनिष्टको आशंका

प्रतिक्रिया दिनुहोस