कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । प्रमुख नजिर मियाँले आज उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज मन्त्री मण्डल विस्तार गर्दै थापालाई नियुक्त गरेका थिए । यसअघि थापालाई विना विभागीय मन्त्री बनाउन लागिएको थियो । तर उनी विना विभागीय मन्त्रीको शपथ लिन अस्वीकार गरेकी थिइन् ।
उनले सामाजिक सञ्जालमा मुख्यमन्त्री सोडारीलाई आफ्नो समर्थन नरहेको साथै सरकारमा समेत नजाने विज्ञप्ति जारी गरेकी थिइन् ।
मंगलबार बसेको प्रदेशका सत्ता साझेदार दलको बैठकले नाउपालाई थप एक मन्त्रालय दिने सहमति भएको थियो । नाउपाबाट यसअघि कैलाश चौधरी भौतिक मन्त्रीको शपथ खाइसकेका छन् ।
अब मुख्यमन्त्री सोडारीले आगामी शुक्रबारसम्म विश्वासको मत लिने गरी छलफल अघि बढाएका छन् । एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ बैशाख २०८१, १३ : ५४
लेखकबाट थप