‘सरकार ! नवयुवराज पैदा होइबक्स्यो ।’
युवराज्ञी ऐश्वर्यकी सहयोगी प्रेमा सिंहले दुई हात जोडी धनुष्टङ्कार शैलीमा निहुरिएर प्रणाम गर्दै भनिन् ।
कुनै ठूलो बोझले थिचिँदा उत्पन्न हुने बेचैनी राजामा प्रस्ट देखिन्थ्यो ।
बैठककक्षमा तनावमय मुद्रामा घरि यता त घरि उता गरिरहेका राजा महेन्द्रलाई युवराज्ञी ऐश्वर्यकी सचिव प्रेमा सिंहले ढोकैमा उभिएर नाति पैदा भएको खबर त्यसरी सुनाएपछि राजा महेन्द्रले ‘धत्तेरी’ भन्दै सल्किएको चुरोटको ठुटो भुइँमा फाले र खिन्न हुँदै भने, ‘बर्बाद भयो ।’
निकै उत्साहित भएर प्रेमा महाराजाधिराजलाई खुशीको खबर सुनाउन गएकी थिइन् । खुशीको खबर सुनाउँदा पनि राजामा विस्मात्पूर्ण भाव प्रकट भएको देखेर उनी स्तब्ध भइन् । हात जोडिएको थियो प्रणाम गर्न, जोडिएको जोडियै भएछ उनको ।
राजालाई तनावमा देखेर उनी झस्किन् र दर्शन गरेर फर्किइन् ।
राजा थच्च काउचमा बसे र टोलाइरहे । चुरोटको आगो गलैँचामा सल्किएर निस्किएको धुवाँले उनको मुद्रा भङ्ग गऱ्यो । उठे र आगो निभाउँदै डस्टबिनमा चुरोटको ठुटो फ्याँकिदिए ।
फेरि काउचमा बसे । र, हातमा निधार अड्याएर निहुरिरहे ।
युवराज्ञी ऐश्वर्यको पेटमा गर्भ रहेपछि राजा महेन्द्रले गर्भवती बुहारी र पैदा हुनेवाला बच्चाको विषयलाई लिएर राजज्योतिषीसँग परामर्श गरेका थिए । ज्योतिषीले भनेका थिए, ‘असार (२०२८ वि.सं.) को दोस्रो साताभन्दा केही अगाडि नै या त्यसपछाडि जन्मनु उपयुक्त हुन्छ, यदि दोस्रो साताभित्रै नवयुवराज पैदा भएछन् भने राम्रो नहुन सक्छ । त्यो समयमा जन्मने मान्छे कुल–वंशका लागि घातक हुन सक्छ ।’
ज्योतिषीले यसो भनेका भए पनि निषेधित समयमै युवराज्ञीलाई बेथाले च्याप्दै लगेपछि दरबारमा डाक्टर बोलाइएको थियो ।
डाक्टरले तत्कालै बच्चा नजन्माए आमाको ज्यान खतरामा पर्न सक्ने बताइन् । महारानी रत्नले यो समयमा बच्चा जन्मन नहुने ज्योतिषीको राय छ भन्दा डाक्टरले जवाफ फर्काइन्, ‘विज्ञानलाई विश्वास गर्ने कि ज्योतिषीलाई ? यस्तो जमानामा पनि ज्योतिषीका कुरा सुनेर हुन्छ ?’
यसरी जवाफ फर्काउने चिकित्सक त्रिभुवनपुत्री दिव्यश्वरी थिइन् । महारानी रत्न नाजवाफ भइन्, अहिले नै बच्चा नजन्मे आमाको ज्यान खतरामा पर्ने डाक्टरको मुखबाट सुनेपछि प्रतिवाद गर्न सकिनन् र उनी आफ्नो शयनकक्षतिर लागिन् ।
नवयुवराज राजज्योतिषीलाई ‘चुनौती दिँदै’ असार १३ गते जन्मिएका थिए । त्यसैले राजा महेन्द्र नवयुवराजको पदार्पणमा पनि खुशी हुन सकेनन् । ज्योतिषीले बर्जित गरेकै समयमा बालक पैदा भएकोले अनर्थ हुने चिन्ताले राजा महेन्द्र त्यसरी बेचैन भएका थिए । उनी यस्ता कुराहरूमा शतप्रतिशत विश्वास त गर्दैनथे, तथापि अनिष्ट पैदा हुने सन्देहले उनलाई सताएको थियो ।
उनले पुनः अर्को एउटा चुरोट सल्काएर आकाशतिर धुवाँ फाल्दै उडिरहेको धुवाँमा एकटक दृष्टि लगाइरहे ।
त्यसैबीच, हस्याङ–फस्याङ गर्दै बैठककक्षमा महारानी रत्नको प्रवेश भयो, महाराज झस्किए ।
‘महाराज के गर्ने ? बित्याँस पऱ्यो, यही समयमा बालक पैदा भयो,’ नजिकै सोफामा बस्दै महारानीले भनिन् ।
उनको मुहारमा हतासा र चिन्ताको विम्ब पसिनाझैँ प्रस्ट देखिँदै थियो ।
राजा फिस्स हाँसे र महारानीको पिँठ्युमा धाप मार्दै भने, ‘केही हुन्न, चिन्ता नगर । ज्योतिषीले भनेका सबै कुरा कहाँ मिल्छन् र ?’
‘महाराज, हाम्रा ज्योतिषीले भनेका धेरै कुरा मिलेका छन्, मिल्छन् । मलाई त निकै डर लागिरहेको छ, कतै यसैको जन्मका कारण कुनै अनिष्ट निम्तिने हो कि ?’
‘त्यस्तो केही हुन्न महारानी, ज्योतिषीय दृष्टिले देखिने अनिष्टको उपचारविधि पनि उनीहरूले नै भन्न सक्छन्, ज्योतिषीहरूसँग सल्लाह–परामर्श गरौँला,’ राजा महेन्द्रले रानी रत्नलाई आश्वस्त पार्ने प्रयत्न गरे ।
तर, रत्नको मन यस घटनाले यसरी डामिएको थियो कि पति राजाका कुराले उनको मनमा शीतलता प्राप्त हुन सकेन । भनिन्, ‘मलाई त केही न केही अनिष्ट हुन्छ भन्ने लागिरहेको छ महाराज ।’
महाराज अलिक चिढिए र भने, ‘त्यसो भए के गर्ने त ? नवजात शिशुको बध गर्ने कुरा भएन, नवयुवराज अनिष्टकारी जन्मियो भनेर ढोल पिट्ने कुरा पनि आएन । त्यसै पनि मेरा विरोधी धेरै छन्, मेरो असफलताका निम्ति क्रियाशील भइरहेकाहरूलाई उत्साही तुल्याउने कुनै सङ्केत दरबारबाट बाहिर जानुहुँदैन । कुरा बुझ न तिमी ।’
महाराजमा अलिक चिडचिडाहट पैदा भएको महसुस गरिन् बडामहारानीले । कुनै प्रतिक्रिया जनाउनु उपयुक्त लागेन उनलाई । त्यसैले बडामहारानी रत्न मलीन अनुहार बनाउँदै बैठककक्षबाट बाहिर निस्किन् ।
आज नवयुवराजको न्वारानको दिन ।
कर्मचारी, गुरू–पुरोहित र सुरक्षाकर्मीहरूको चहलपहलले नारायणहिटीको रौनक बेग्लै तुल्याएको थियो ।
बैठककक्षमा गफिइरहेका राजा महेन्द्र र महारानी रत्नलाई नवयुवराजको मुख हेर्न जाने समय भइसकेको खबर प्राप्त भयो । सोफामा बसेका राजा उठे र महारानीको हात समातेर उनलाई पनि उठाए । दुवैजना बैठककक्षबाट बाहिरिएपछि द्वारपाल, सुसारे, सहयोगी कर्मचारीसँगै राजारानी नवयुवराज भएको कक्षतिर लागे । खोपीमा सुत्केरी युवराज्ञी सुतिरहेकी थिइन् । सुसारेहरूले खबर पु¥याए, ‘महाराजको सवारी हुँदै छ ।’
सुतिरहेकी युवराज्ञी उठिन् र खुम्चिएका कपडा मिलाउन थालिन् ।
नवबालकको मुख हेर्ने क्रममा चढाउन सुनका केही सिक्का किस्तीमा राखिएका थिए । एक सुसारेले उक्त किस्ती महाराजका सामु राखिदिइन् ।
राजारानीको कोठाभित्र प्रवेश भयो । धाई सुसारेहरू उठे र प्रणाम गरे । सुसारेले न्यानो र रङ्गीन कपडामा बालकलाई बेरेर ओछ्यानबाट उठाई महाराजको हातमा राखिदिइन् । राजाले सुनका सिक्का चढाए र नातिलाई हातमा लिए ।
तिमीलाई कस्तो छ ? राजाबाट युवराज्ञीलाई सोधनी भयो । उनले मुस्कुराउँदै भनिन्, ‘ठीक छ बुबाज्यू सरकार ।’ नातिलाई काखमा राख्दै राजा महेन्द्र सोफामा बसे ।
बालक निकै टाठो थियो । आँखा खुला र चम्किला थिए । बालकलाई जिस्क्याउने उद्देश्यले आफ्नो हातले बालकको गाला सुस्तरी समाए । बालकले मुस्कुराएझैँ गरी मुख खोल्यो, उम्रिएका दाँत राजाले देखे ।
भर्खर जन्मिएको बालकको दाँत उम्रिएको देखेपछि राजाको मुखको मुस्कान र चमक एकाएक गायब भयो । उनले सुसारेको हातमा बालक सुम्पिँदै महारानीलाई भने, ‘जाऊँ अब ।’
दुवैजना उठे, जाँदाजाँदै राजाले युवराज्ञीलाई ‘लौ आराम गर’ भने । सुसारेहरूलाई युवराज्ञीको स्वास्थ्यमा राम्रो ख्याल गर्नु भन्न उनले बिर्सिएनन् ।
तिमीले देख्यौ ?
फर्कंदै गर्दा राजाले महारानीलाई सोधे ।
त्यही दाँत होइन ? किन नदेख्नु, देखेँ । ज्योतिषीले भनेको साँच्चै हो कि जस्तो छ सरकार, महारानीले भनिन् ।
‘कुनै–कुनै बालक पैदा हुँदैमा दाँत उम्रिसकेको हुन्छ । यो पहिलो घटना होइन महारानी, त्यसरी भयभीत हुनुपर्दैन । समस्या समाधानको ज्योतिषीय काइदा पनि हुन्छ । उसैसँग सल्लाह गरौँला नि, केही हुँदैन, चिन्ता नगर,’ महारानीलाई आश्वस्त पार्ने प्रयास गरे आफैँ जलेका राजाले ।
महाराजको शयनकक्षसम्म पुग्दा दुईजनाबीच बालकको दाँत र ज्योतिषीकै बारेमा मात्र कुरा भए ।
शयनकक्षमा पुगेपछि राजाले आफ्नो कोट र सधैँ लगाइरहने कालो चस्मा पनि खोले र ढोकाबाहिर उभिइरहेको द्वारपालेलाई सुसारे बोलाउन आदेश गरे ।
सुसारेको प्रवेश भयो । राजाले उनलाई ह्विस्की तयार गर्न भने ।
‘अहिले पिउने हो र ?’ महारानीले भनिन् ।
सुसारेतिर हेर्दै राजाले भने, ‘आज नवयुवराजको न्वारान भएको अवसरमा नपिए कहिले पिउने त, होइन चमेली ?’
चमेली मुस्कुराइन् । उनले राजाको टेबुलमा ह्विस्कीको गिलास राखिदिँदै त्यसमा आइसका टुक्राहरू भरिदिइन् ।
‘आज तिमी पनि पिउने’ भन्दै राजाले अर्को एउटा गिलास ल्याउन चमेलीलाई अह्राए ।
‘सरकार मेरो मुड नै छैन, म पिउँदिनँ ।’
‘होइन त्यसो नभन, मलाई साथ देऊ न, बरु एक पेग मात्र लेऊ ।’
महारानीले गिलास समातिन् र राजाको मुखतिर हेरिन् । राजाले आफ्नो ओठमा ह्विस्कीको गिलास पु¥याइसकेका थिए । आँखाले पिउने इसारा गरे ।
महारानीले पनि पिउन शुरु गरिन् ।
टेबुलमा मृगको सुकुटी र खसीको सेकुवा राखिएको थियो । राजाले सुसारेलाई बँदेलको सुकुटी पनि ल्याउन अह्राए, चमेली भान्सातिर गइन् ।
सुसारे बाहिरिनेबित्तिकै महारानीले भनिन्, ‘होइन सरकार, म त ‘ओभरकम’ हुन सकिरहेकी छैन । हाम्रो नाति ज्योतिषीले भनेझैँ कुलनाशक नै होला त ? उसका दाँत पनि उम्रिएका छन्, यो अपशकुन हो भन्छन् । मेरा बुबाहजुर पनि मर्जी हुने गरिबक्सन्थ्यो, ‘जन्मँदैमा बालकको दाँत उम्रिनु राम्रो होइन ।’
‘राम्रो होइन भनिन्छ, त्यो मलाई पनि थाहा छ, तर अब जन्मिसकेको छ, केही गर्न सकिँदैन, यसको सामना गर्नैपर्छ । डराएर हुन्न महारानी जे–जे पर्छ व्यहोर्दै जाउँला, चिन्ता गरेर हुँदैन,’ राजाले ह्विस्कीको चुस्की लिँदै भने ।
‘होइन महाराज, यी सब कुराको जानकारी वीरेन्द्रलाई पनि छ, तर ऊ त यस विषयमा केही थाहा नै नभएझैँ निश्चिन्त देखिन्छ,’ महारानीले भनिन् ।
‘वीरेन्द्रले जे–जस्ता ठाउँहरूमा शिक्षा पायो, त्यहाँ यस्ता कुराहरूमाथि विश्वास राखिन्न । पश्चिमा शिक्षा पूर्णरूपले भौतिकवादमा आधारित छ, यसप्रकारका कुराहरूलाई अन्धविश्वासका रूपमा बुझिन्छ र बुझाइन्छ । वीरेन्द्रमा पश्चिमा शिक्षाको राम्रो प्रभाव छ महारानी । पछि समय, परिस्थितिले उसलाई पनि बदल्न त सक्ला, तर अहिले नै हामी उसको सोचमा परिवर्तन ल्याउन सक्दैनौँ । त्यसैले वीरेन्द्रलाई न ज्योतिषीका कुराले छोएको छ, न दाँतसहितको नवयुवराज आगमनसँग उसलाई सरोकार छ ।’
राजाले रानीको जिज्ञासा शान्त पारे । यसरी राजाले ‘सम्झाउन प्रयास गर्दा महारानीसँग त्यसको खण्डन गर्ने क्षमता र हिम्मत हुँदैनथ्यो, तर जलिरहेको उनको मनलाई राजाका कुनै पनि तर्कले शीतलता दिन सकिरहेको थिएन ।
दुवैले ह्विस्कीको एउटा बोतल झन्डै रित्याउन लागेका थिए । महारानीले आफ्नो शिर भारी भएको जाहेर गरिन् ।
त्यसपछि राजाले ‘हिँड जाऊँ बगैँचामा डुल्न, ताजा हावामा डुल्दा ‘फ्रेस’ होइन्छ’ भन्दै रानीको हात समातेर उठाए ।
दुवैजना बगैँचातिर डुल्न निस्किए । धाई सुसारे र अङ्गरक्षकहरू टाढैबाट बगैँचातिर नियाल्न थाले ।
(क्रमशः)
प्रतिक्रिया दिनुहोस