एमाले प्रतिनिधि परिषद् बैठक

नयाँ सत्ता समीकरणबारे ओलीको राजनीतिक प्रतिवेदनमा के छ ?

सफल खबर संवाददाता

शनिबार, ०८ बैशाख २०८१, १५ : १२
नयाँ सत्ता समीकरणबारे ओलीको राजनीतिक प्रतिवेदनमा के छ ?

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरणले जनतामा आशा जगाएको दाबी गरेका छन् । एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले गम्भीर परिस्थितिलाई जिम्मेवार पार्टीको हैसियतले हामीले मूकदर्शक भएर हेर्न नसकेको कारण नै सत्ता गठबन्धन भत्काएको उल्लेख गरेका छन् ।

ओलीले नयाँ सत्ता समीकरणले जनतामा अलिकति भए पनि आशा र भरोसा पुनर्जागृत भएको दाबी गरेका छन् । उनले सत्ता समीकरण फेरेर एमालेले आफ्नो कुनै पनि स्वार्थलाई ध्यानमा नराखेको जिकिर गर्दै भनेका छन् ‘सत्ता सहकार्य निर्माण गरिरहँदा हाम्रो पार्टीले आफ्नो कुनै स्वार्थलाई केन्द्रमा राखेको छैन । देशको स्वार्थ नै हाम्रो पार्टीको पनि स्वार्थ हो । यससँग हाम्रा निश्चित अपेक्षा र प्राथमिकता ओडिएका छन् । सङ्क्षेपमा एमाले लाई सरकारबाट विस्थापन गरेपछिको अवधि आमरुपमा बेथिति, मुलुकको अधोगति र निराशाको अवधि रह्यो। मुलुकमा चौतर्फी सङ्कट गहिरिंदै गयो । जसलाई हामीले केवल टुलुटुलु हेरेर बस्न सकेनौं’ ।

‘यस्तो गंभीर परिस्थितिलाई जिम्मेवार पार्टीको हैसियतले हामीले मूकदर्शक भएर हेर्न सक्दैनथ्यौं’ सत्ता गठबन्धन भत्काएकोबारे ओलीले थप भनेका छन् ‘यद्यपि हामी पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने र निर्वाचनका माध्यमबाटै गठबन्धनलाई परास्त गरेर राजनीतिको गलत कोर्स सच्याउने कामलाई प्राथमिकतामा राखेर क्रियाशील थियौं । तर, निर्वाचनको मात्रै प्रतिक्षा गरिरहँदा झनै गहिरो मुलुक फँस्ने र आन्तरिक र वाह्य शक्तिकेन्द्रहरुले आफ्ना सङ्कीर्ण स्वार्थका लागि त्यसको फाइदा उठाउने जोखिम बढ्दै गयो। आन्दोलनको आँधीबेहरी उठाएर सरकारका गलत कामलाई रोक्न र गठबन्धनलाई पराजित गर्ने विकल्प पनि थियो ।

तर, हामीले संभव भएसम्म राजनीतिक शक्तिहरुलाई गोलबन्द गर्दै त्यस जनविरोधी गठबन्धनलाई भत्काउने र तुलनात्मक रुपमा देशका लागि अनुकूल राजनीतिक समीकरण निर्माण गर्ने विकल्प रोज्यौं । यसका लागि हामीले विभिन्न राजनीतिक शक्तिसँग संवाद गर्यो र अन्त्यमा रणनैतिक कौशलका साथ यो नयाँ राजनीतिक समीकरण निर्माण गर्यो। २०८० फागुन २१ गते एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एस सम्मिलित नयाँ सरकार बनेर नयाँ सत्ता सहकार्य सुरु भएको छ’ ।

ओलीले राजनीतिक समीकरण परिवर्तन भएसँगै मुलुकको राजनीति केही हदसम्म अनुकूल बनेको बताएका छन् । ‘एमालेका विरुद्ध खडा गरिएको गठबन्धन र बनाइएको घेराबन्दी तोडिएको छ’ ओलीले भनेका छन् ‘राष्ट्रिय राजनीतिमा एमालेको नेतृत्वदायी भूमिका फेरि एकपटक स्थापित भएको छ । नयाँ सत्ता सहकार्यबाट जनतामा अलिकति भए पनि आशा र भरोसा पुनर्जागृत भएको छ’ ।

ओलीले एमाले हाल भईरहेको विकास निर्माणको ‘गेयर’ बदल्न चाहने पार्टी भएको उल्लेख गरेका छन्। ‘यसका लागि लगानी बढाउन चाहन्छौं । महङ्गी नियन्त्रण र अन्य उपायहरु मार्फत् जनतालाई राहत दिन चाहन्छौं’ उनले भनेका छन् ‘हाम्रो जोड उत्पादन वृद्धि र उद्यमशीलता प्रबर्द्धनमा हुनेछ । यसले मात्रै जनताको चीरप्रतिक्षित समृद्धिको आकाङ्क्षालाई पूरा गर्न सक्नेछ र बेरोजगारी र युवा प्रवासनको चुनौतीलाई समाधान गर्न सक्नेछ । एकाध औपनिवेशिक देशको अपवादलाई छाड्ने हो भने कुनै पनि देश आफै बनेको या अरुले आएर बनाइदिएको होइन । आज विकसित अवस्थामा पुगेका मुलुक पनि हाम्रो जस्तो उतार चढाव, सफलता-विफलता र अविकास-अल्पविकासको प्रक्रिया पार गरेरै त्यस विन्दुमा पुगेका हुन्। हरेक नागरिकले आफ्नो मुलुक आफैले बनाउने हो । यसै मर्म अनुरुप हामीले ‘आफ्नो गाउँ आफै बनाऊँ’ को नारा अगाडि सारेका थियौं । भूकम्पले देश थिलोथिलो भएको बेला अगाडि सारिएको ‘मै बनाउँछु मेरो धरहरा’ भन्ने नाराले पनि यही मर्म बोकेको थियो’।

ओलीले शान्ति प्रकृयाकलाई टुंगोमा पुर्याउने टीआरसी विधेृयकलाई आफ्नो पार्टीले तत्काल टुंग्याउन चाहेको पनि बताएका छन् । ‘हामी सङ्क्रमणकालीन न्यायको बाँकी काम अबिलम्ब टुङ्‌याउन चाहन्छौं। पीडितहरु हिजो पनि पीडित–आजपनि पीडित हुने स्थिति नहोस्, सङ्क्रमणकालीन न्यायका नाममा सङ्क्रमणकालीन अन्याय नहोस् भन्ने हाम्रो भनाइ हो । पीडित केन्द्रित, पीडित मैत्री तरिकाबाट यसलाई टुङ्याउनु पर्छ’ ओलीले भनेका छन् ‘सशस्त्र द्वन्द्वमा हामी तटस्थ थियौं । हामीले हिंसाको आलोचना गरेका थियौं । हिंसा त बाध्यता पो हुनु पर्ने हो, तर कतिपयले यसलाई शोखको विषय, छनोटको विषय बनाउनु भएको थियो, त्यसप्रति हामीले असहमति जाहेर गरेका थियौं । हामी सरकारमा रहँदा पनि भनेका थियौं, हामी यस विषयलाई छिटोभन्दा छिटो टुङ्ग्याउन चाहन्छौं। तर विभिन्न पार्टीहरुको स्वार्थ केन्द्रित दाउपेचमा परेर यो विषय अझै टुङ्गिन सकेको छैन । हामी पीडित(केन्द्रित विधि र संरचना निर्माण गर्दै यस विषयलाई समाधान गर्न चाहन्छौं’ ।