काठमाडौँ । पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकप्टरको माग बढ्दो भएको हेली एभरेष्टका बजार प्रमुख सिताराम सापकोटा बताउँछन् ।
“वसन्त ऋतुमा हेलिकप्टरको व्यापार राम्रो हुन्छ, व्यापार राम्रो हुनका लागि एउटा हेलिकप्टरले दैनिक औसतमा आठ घण्टा उड्नुपर्छ”, उनले भने, “अहिले दैनिक पाँचदेखि छ घण्टासम्म उडान भइरहेको छ । यो बढ्दो छ ।” बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले हालै हेलिकप्टरको सङ्ख्या बढाएको छ ।
“सिजनमा हेलिकप्टरको माग उत्साहबर्द्धक हुन्छ । हेलिकप्टर भित्र्याएर बजार बिस्तार गर्ने योजनामा व्यवसायी छन्”, उनले भने, “हामीले पनि नयाँ एक थान हेलिकप्टर थप गरेका छौँ ।” कम्पनीले एयरबस बी थ्री–२०१९, कलसाइन नाइन–एन एओबी हेलिकप्टर थप गरेको हो । यससँगै हेलि एभरेष्टका हेलिकप्टरको सङ्ख्या चार पुगेको छ । कम्पनीले यसअघि गत असोजमा तेस्रो हेलिकप्टर थपेको थियो ।
यसअघि चैतको पहिलो साता मनाङ एयरले नयाँ हेलिकप्टर ल्याएको थियो । कम्पनीले एच १२३ (बीथ्रीई) हेलिकप्टर ल्याएको हो । यस्तै, मुस्ताङले एउटा हेलिकप्टर थपेको छ । अल्टिच्युड एयरले पनि हेलिकेप्टर थप्ने योजना बनाएको छ । हेली एभरेष्टका बजार प्रमुख सापकोटाले थप एक थान हेलिकप्टर थप्ने कम्पनीको योजना रहेको बताए । “अर्को वर्षमा पाँच वटा हेलिकप्टर पुर्याउने योजना छ”, उनले भने, “नियामक प्राधिकरणले हेलिकप्टर कम्पनीसँग पाँच वटा पुर्याउन भनेको छ, तीन वटा हेलिकप्टर नभए नवीकरण नै नहुने व्यवस्था छ ।”
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार नेपालमा १२ वटा हेलिकप्टर कम्पनीसँग ४० वटा हेलिकप्टर छन् । यीमध्ये ३६ वटा हेलिकप्टर सञ्चालनमा छन् । नेपाली सेनासँग छुट्टै छ थान हेलिकप्टर छन् । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अहिले सञ्चालनमा रहेका बाहेक थप दुई हेलिकप्टर कम्पनी आउने प्रक्रियामा रहेको बताए । उनले भने, “सञ्चालनमा रहेका १२ बाहेक थप दुई हेलिकप्टर कम्पनी सञ्चालनको प्रक्रियामा छन् । वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) लिने चरणमा छन् ।”
भूधरातलीय अवस्थाले नेपालमा हेलिकप्टर सेवा निकै प्रभावकारी मानिन्छ । महङ्गो भएपनि अत्यावश्यक काम, आकस्मिक उद्धार, पर्यटकीय सेवा, व्यापारिक उडान, चिकित्सकीय सेवा तथा कार्गो उडानमा यो हेलिकप्टरको प्रयोग गरिदैँ आएको छ । हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल शर्माले अहिले हेलिकप्टरलाई भ्याइनभ्याइ रहेको र यो चाप अझै बढ्ने बताए । उनले हेलिकप्टरको सङ्ख्या बढे पनि पाइलटको अभाव र मौसमका कारणले हेलिकप्टर उडानमा समस्या भइरहेको उल्लेख गरे ।
श्री एयरलाइन्ससँग सर्वाधिक आठ हेलिकप्टर छन् । कम्पनीसँग एमआई १७ हेलिकप्टर छ र बिआडी दुई छन् । एयर डाइनेस्टी र प्रभु हेलिकप्टरसँग चार, माउन्टेन एयर, हेली एभरेष्ट, अल्टिच्युड एयर र फिस्टेल एयरका समान दुई हेलिकप्टर छन् । सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीका अनुसार कम्पनीले १० वटा हेलिकोप्टर थप्ने दीर्घकालीन योजना छ ।
चालु आर्थिक वर्षमा एक र अर्को वर्ष थप एक हेलिकप्टर ल्याउने कम्पनीले जनाएको छ । यो कम्पनीसँग एयरबस (बीथ्रीई) हेलिकप्टर दुई र बेल ५०५ हेलिकप्टर दुई गरी कूल चार हेलिकप्टर सञ्चालनमा छन् । नेपालमा अहिले श्री एयरलाइन्स, सिम्रिक एयर, फिस्टेल एयर, अल्टिच्युड एयर, मनाङ एयर, मुस्ताङ हेलिकप्टर, एयर डाइनेस्टि, माउन्टेन हेलिकप्टर, प्रभु हेलिकप्टर, अन्नपूर्ण हेलिकप्टर, एली एभरेष्ट र कैलाश हेलिकप्टरले सेवा दिइरहेका छन् ।
वसन्त ऋतु हेलिकप्टरको मुख्य सिजन पनि हो । वसन्त ऋतुको यो याममा पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउछन् । उनीहरु सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण, चर्चित, अन्नपूर्ण, लाङ्टाङलगायत गन्तव्यमा ठूलो सङ्ख्यामा पदयात्री पुग्छन् । “अहिले हेलिकप्टरको विजनेस राम्रै छ । सिजन पनि चलिरहेकाले अर्को महिनासम्म अकुपेन्सी बढ्ने देखिन्छ”, सिम्रिक एयरका महाप्रबन्धक जोशीले भने ।
कैलाश हेलिकप्टरका प्रबन्ध सञ्चालक प्रतापजङ्ग पाण्डेले भने सिजनमै हेलिकप्टरको व्यापार सुस्त रहेको बताए । “अघिल्लो वर्षभन्दा यो वर्ष विजनेश सुस्त छ”, उनले भने, “विदेशी पर्यटकको सङ्ख्या बढेपनि खर्चालु पर्यटक नहुँदा व्यापार आशातित रुपमा बढेको छैन ।”
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ चैत्र २०८०, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
बाजुरामा गर्भवतीको हेलिकप्टरबाट उद्धार
काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेलिकप्टर परिचालन
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
रुसको कामचट्कामा २२ जना सवार हेलिकप्टर बेपत्ता
चिकित्सक लिएर बस दुर्घटनास्थलतर्फ उड्यो सेनाको हेलिकप्टर