नागरिकको सेवालाई प्राथमिकतामा राख्न सुरक्षा अधिकारीलाई गृहमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, १६ चैत्र २०८०, १६ : २९
नागरिकको सेवालाई प्राथमिकतामा राख्न सुरक्षा अधिकारीलाई गृहमन्त्रीको निर्देशन

झापा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकका गुनासो सम्बोधनमा प्राथमिकता दिन निर्देशन दिएका छन् ।  जिल्ला प्रशासन कार्यालय झापामा शुक्रवार सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै गृहमन्त्री लामिछानेले नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरी काम गर्न निर्देशन दिए । ‘आम नागरिकलाई सेवा दिनु नै तपाईँ/हाम्रो जिम्मेवारी हो,’ गृहमन्त्री लामिछानेले भने, ‘राजनीतिक रूपमा सरकार आउँछन्/जान्छन् । स्थायी सरकार (कर्मचारी)ले नागरिकको सेवालाई प्राथमिकता दिनुपर्छ ।’

कानूनले दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै उनले भने, ‘कानूनभन्दा माथि कसैले काम गर्न दबाब र प्रभाव दिए मलाई भन्नुस् ।’ ‘कामका लागि निर्देशन कुर्ने होइन । आइडिया लगाएर काम गर्नु पर्छ,’ उनले भने ।

प्रश्न सोध्नेबाट आफू जवाफ दिने ठाउँमा पुगेको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले अब कर्मचारीहरूको काम नै आफ्नो जवाफको आधार भएको बताए । ‘मलाई नाजवाफ बनाउनु हुन्छ कि स्पष्ट जवाफ दिने ? तपाईँहरूको हातमा छ । त्यही अनुसार काम गर्नुस्,’ उनले भने, ‘पीडितभन्दा पीडक पहिला प्रशासन/प्रहरीमा आउने, उनीहरूसँगै प्रशासन/प्रहरीको हिमचिम गर्ने प्रवृत्ति अन्त्य हुनैपर्छ ।’

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसमेत उपस्थित थिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्लाको वस्तुस्थिति, सेवा प्रवाह, सुरक्षालगायत विषयमा गृहमन्त्री समक्ष ब्रिफिङ गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस