विराटनगर। कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ ।स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईँले चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कोशीका १४ जिल्लामा ७९ जनाको क्षयरोगबाट मृत्यु भएको जानकारी दिए ।
कोशीमा एक हजार एक सय १४ उपचार केन्द्र, एक सय ३२ स्थानमा खकार परीक्षण गर्ने ल्याब, १९ जिन एक्सपर्ट मेसिन, चार क्षयरोग प्रतिरोधी उपचार केन्द्र र एउटा आवासीय गृह रहेको उनले बताए ।
सरकारले प्रदेशभरिका क्षयरोगका बिरामीलाई प्रादेशिक अस्पताल भद्रपुर, ओखलढुङ्गा सामुदायिक अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित नेपाल क्षयरोग निवारण संस्थामार्फत निःशुल्क उपचार गर्दै आएको छ ।
चालू आर्थिक वर्षको ६ महिनामा दुई हजार २३ जनामा क्षयरोग देखिएको छ । जसमध्ये आफैं स्वास्थ्य जाँच गराएर पत्ता लगाउने ३७ दशमलव ९ प्रतिशत, निजी अस्पतालमा जाँच गर्दा ३९ दशमलव तीन प्रतिशत र सरकारी अस्पतालमा परीक्षण गर्दा क्षयरोग पत्ता लागेका १८ दशमलव चार प्रतिशत रहेका फोकल पर्सन गुरागाईँले बताए ।
कोशीका १४ जिल्लामध्ये सबैभन्दा बढी क्षयरोगी झापा, मोरङ र सुनसरीमा रहेका छन् । झापामा पाँच सय ७९, मोरङमा पाँच सय २३ र सुनसरीमा चार सय ७९ क्षयरोगी रहेका छन् ।यस्तै उदयपुरमा एक सय ४५, इलाममा ८२, पाँचथरमा २२, तेह्रथुममा २१, धनकुटामा २३, भोजपुरमा २८, खोटाङमा १६, ओखलढुङ्गामा ५३, सोलुखुम्बुमा १६, सङ्खुवासभामा २२ र ताप्लेजुङमा २३ क्षयरोगका बिरामी रहेका छन् ।
जिल्लास्थित स्वास्थ्य कार्यालय, पालिकामा रहेका स्वास्थ्य संस्थालगायतले स्वयम्सेवक नै खटाएर क्षयरोगीको पहिचान गरिरहेको फोकल पर्सन गुरागाईँले बताए ।बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा कीटाणु निरोगी व्यक्तिको सम्पर्कमा आएमा रोग सर्ने जोखिम बढी हुन्छ ।
झापा, मोरङ र सुनसरीमा जनधनत्व बढी भएका कारण पनि क्षयरोगका बिरामी बढी भएको उनको भनाइ छ । सरकारले सन् २०३५ सम्ममा क्षयरोगबाट मुक्त गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डब्लूएचओकी क्षेत्रीय निर्देशकको आह्वान– अफ्रिकामा क्षयरोग अन्त्य गरौँ
झापामा पच्चीस जना बालबालिकामा क्षयरोग
क्षयरोगबाट तनहुँमा ६ महिनामा ७ जनाको मृत्यु