काठमाडौँ । आगामी वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट मिलन लिम्बुले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार हुन् । सो क्षेत्रबाट निर्वाचित नेकपा एमालेका सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्नका लागि मलाई इलाम(२ का जनताले यो माटोको उम्मेदवारका रूपमा उभ्याएका छन् ।
म इलामको माटोको कसम खाएर भन्छु, अन्तिम सास रहेसम्म इलामेली जनताको पक्षमा काम गर्नेछु । राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध लडिरहनेछु । यो उपनिर्वाचनमा मात्रै नभएर म इलामका नागरिकको सेवक बनेर जीवनभर सुख(दुःखमा सँगै उभिने वाचा गर्दछु ।’
विकास र समृद्धिको आशामा राजनीतिक दलका उम्मेदवारलाई बारम्बार जिताएर पठाए पनि उनीहरूले सधैँ जनताको मतको दुरुपयोग मात्रै होइन, मूल्य–मान्यताहरूलाई समेत कुल्चिएको उनको आरोप छ । इलामेली नागरिकलाई जल, जंगल र जमिनको मालिक बनाउने यो अभियानमा साथ र सहयोगका लागि उनले अपिल गरेका छन् ।
‘संविधान र संघीयता लागू भए पनि अझै केही राजनीतिक कार्यभार बाँकी छन् । स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनु छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउने गरी शासकीय प्रणालीमा परिवर्तन गर्नु छ । सबै अस्तित्वहरूको सम्मान गर्दै पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गर्नु छ । यी राजनीतिक कार्यभार पूरा गर्नका लागि तपाईं(हामी एकताबद्ध हुनै पर्छ,’ उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ चैत्र २०८०, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु उम्मेदवार