कांग्रेस पदाधिकारीले गरेका गल्तीहरू महासमिति बैठकले सच्याउनुपर्छ : उपसभापति गुरूङ

सफल खबर संवाददाता

सोमबार, ०७ फागुन २०८०, १५ : ५७
कांग्रेस पदाधिकारीले गरेका गल्तीहरू महासमिति बैठकले सच्याउनुपर्छ  : उपसभापति गुरूङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले महासमितिले बैठकले वडाध्यक्षदेखि मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निर्णय लिनुपर्ने बताएका छन्। ललितपुरको गोदावरीमा महासमिति बैठकको उद्घाटनसत्रमा  बोल्दै  मन्त्री गुरूङले कांग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि संघीय मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निर्णय गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘यो महासमितिले वडाध्यक्षदेखि मन्त्री भएकाहरूसम्मको सम्पत्ति छानबिन गर्ने निर्णय गर्नुपर्छ, यसका लागि हिम्मत गर्नुपर्छ।' उपसभापति गुरूङले पदाधिकारीले गरेका गल्ती महासमिति बैठकले सच्याउनुपर्ने समेत बताए।

पार्टीको भद्दा संरचनालाई हटाएर चुस्त बनाउनुपर्ने उनको भनाइ  छ। उनले बैठकमा पेश गरिने प्रस्तावमा गहिरो गरी छलफल हुनुपर्ने र नीति बनाइनुपर्नेमा जोड दिए। मन्त्री  गुरूङले  जनतालाई महशुस हुनेगरी १४ औं महासमिति बैठक सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले महासमिति बैठक पार्टीका लागि सर्वोच्च निकाय भएको बताए।

'नेपाली कांग्रेसलाई चुस्तरुपमा अगाडि बढाउन महासमिति बैठकले सही बाटो देखाउन सकोस्। यसैले बैठकमा आएका सबै प्रस्तावमाथि गहनरुपमा छलफल गरौं,'उनले भने।
 

प्रतिक्रिया दिनुहोस