भरतपुरको दीपज्योति साकोसलाई प्रोब्यासन ब्राण्ड

मंगलबार, ११ पुस २०७४, ०९ : १३
भरतपुरको दीपज्योति साकोसलाई प्रोब्यासन ब्राण्ड

चितवन । भरतपुरमा रहेको दीपज्योति बचत तथा ऋण सहकारी संस्थाले पूर्ण तथा व्यावसायिक सहकारी संस्था (प्रोब्यासन) ब्राण्ड प्राप्त भएको छ । 
सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले उक्त ब्राण्ड प्रदान गरेको हो । संस्थाले सोमबार ब्राण्ड प्राप्त गरेको अवसरमा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रमका सहभागीहरुले संस्थाले पाएको यो उपलब्धिलाई महत्वपूर्ण भन्दै आगामी दिनमा यस उपलब्धिलाई रक्षा गर्नु चुनौतीपूर्ण रहेको बताएका थिए ।
कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष तेजेन्द्र खड्काले नीति नियमभित्र रहेर पारदर्शी ढंगबाट आर्थिक कारोबार गर्ने सहकारीले मात्रै यो ब्राण्ड पाउने भन्दै दीपज्योतिले पहिलो नम्बरमा ब्राण्ड पाउनुलाई उपलब्धिपूर्ण भएको बताए । आउँदा दिनमा संस्थालाई थप चुनौती थपिएको भन्दै उहाँले यसलाई बचाई राख्न अरु धेरै काम गर्नुपर्ने बताए ।
संस्थाका अध्यक्ष भोला सिवाकोटीले बि.सं. २०५१ सालमा माघ ७ गते २८ जना सदस्यबाट २८ हजार शेयर पूँजीबाट शुरु भएको सहकारीमा अहिले सदस्य संख्या एक हजार ९ सय पुगेको बताउनु भयो । संस्थामा १८ करोड निक्षेप, २ करोड ३५ लाख शेयर पूँजी र लगानी १८ करोड ६८ लाख भएको जानकारी दिए ।
अध्यक्ष शिवाकोटीले विभाग र नेफ्स्कूनले निर्धारण गरेका ५५ वटा सूचक मध्ये १५ वटा वित्तीय र ४० वटा व्यवस्थापकीय रहेको जानकारी दिंदै उनले यी सूचक पूरा गरेर नेपालका १४ वटा सहकारीमध्ये दीपज्योतिले पहिलो स्थान प्राप्त गरी ब्राण्ड पाएको बताए । सर्वाेत्कृष्ट अंकसहित दीपज्योतिले ब्राण्ड पाएको भन्दै उहाँले आउँदा दिनमा पनि ब्राण्डलाई कायम राख्न संस्थाले यस अघिभन्दा बढी मिहिनेत गर्ने बताए ।
कार्यक्रममा संस्थाको तर्फबाट ब्राण्ड प्राप्त गर्न गठित समितिका संयोजक भवनाथ सडौला, संस्थाका उपाध्यक्ष प्रकाश भट्टराई, सल्लाहकार जगन्नाथ भण्डारी, रमाकान्त सापकोटा, गगन सापकोटा लगायतले मन्तव्य राखेका थिए ।
 

प्रतिक्रिया दिनुहोस