आजदेखि सौराहामा हात्ती महोत्सव सुरु हुँदै

मंगलबार, ११ पुस २०७४, ०९ : ०४
आजदेखि सौराहामा हात्ती महोत्सव सुरु हुँदै

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिँदै आएको चितवन हात्ती महोत्सवको १४ औं संस्करण आजदेखि शुरु हुँदैछ । 
पुस १५ गतेसम्म सञ्चालन हुने हात्ती महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सवका मूल संयोजक दीपक भट्टराईले जानकारी दिए । प्रतियोगिताको लागि आवश्यक पर्ने खेल मैदान व्यवस्थापनदेखि स्वागत गेट निर्माण लगायतका सम्पूर्ण तयारी सकिएको आयोजक संस्था क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । 
हात्ती महोत्सवका लागि सौराहालाई ध्वजापताकाले सिंगारिएको छ । सौराहाको मुख्य बजार, होटल, पार्क, रिर्सोटहरु सजाइएको संघका महासचिव राममणि खनालले बताए । हात्ती महोत्सवको १४ औं संस्करणको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् ।
बाजागाजा र झाँकीसहित बिहान निकालिने शोभायात्राले सौराहा बजार परिक्रममा गरी कार्यक्रमस्थलमा पुगेपछि प्रधानमन्त्री देउवाले सिठी फुकेर महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रतियोगितास्थलमा पर्यटकको सुविधाको लागि सशुल्क दर्शक दीर्घा निर्माण गरिएको खेल व्यवस्थापन समितिका संयोजक गिरिधारी चौधरीले बताए ।
महोत्सव अन्तर्गत आयोजना हुने हात्तीको वनभोज कार्यक्रममा ७० भन्दा बढी हात्तीलाई सहभागी गराई रुचि अनुसारको सख्खर, धान, केरा, काउली, बन्दा, उखु, स्याउ, गाजर, सुन्तला लगायतका परिकार खुवाउने तयारी भएको हात्ती वनभोज कार्यक्रमका संयोजक भेषराज दुवाडीले जानकारी दिए । 
बाघमारा मध्यवर्ती सामुदायिक वनको खुल्लाचौरमा हुने महोत्सवमा हात्तीवाकमा २० वटा, गत वर्षबाट थप गरिएको हात्तीपोलोमा ४ समूह, हात्ती फुटबलमा ४ समूह र हात्ती श्रृंगारमा ५ वटा हात्ती सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस