काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि श्रीलंकाली राजदूत सुदर्शन पाथिरानाले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार शिष्टाचार भेट गरेका छन् । उक्त भेटमा शुभकामना आदान-प्रदानपछि नेपाल र श्रीलंकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।
भेटका अवसरमा उपराष्ट्रपति यादवले हालै सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकबाट दुई मुलुकबीच सम्बन्ध विस्तार गर्न सहयोग पुगेको बताए ।उपराष्ट्रपति यादवले नेपाल-श्रीलंका सम्बन्ध मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रहेको बताउँदै सन् १९५७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नै दुई देशबीचको सम्बन्ध निरन्तर विस्तार हुँदै आएको उल्लेख गरे । उनले काठमाडौँ–कोलम्बो सिधा उडानले श्रीलंकाली तीर्थ यात्रीहरूलाई बुद्धको जन्म स्थल लुम्बिनी भ्रमण गर्न सहज भएको बताए ।
उक्त भेटमा श्रीलंकाली एयर चिफ मार्सलसमेत रही सकेका राजदूत सुदर्शन पाथिरानाले गौतम बुद्धमार्फत नेपाल र श्रीलंकाबीच २५ सय वर्ष पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशले क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा समान खालको चुनौतीहरूको सामना गरिरहेको बताए ।
राजदूत पाथिरानाले नेपाली क्रिकेट क्षेत्र र खेलाडीहरूलाई श्रीलंकाले सहयोग गर्न चाहेको उल्लेख गर्दै त्यस अनुरूप श्रीलंकाली खेलकुद मन्त्रीसँग यसबारे आग्रह गरिसकिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ माघ २०८०, १८ : २५
लेखकबाट थप