काठमाडौं। सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले ललितपुरको बालकुमारीमा मन्त्री सवार गाडीमा आगजनी र प्रदर्शनकारीको मृत्यु भएको घटना गम्भीर भएको बताएको छ।पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीले उठाएका मागका विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘कोरियाली भाषा परीक्षासम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारी स्थित ईपीएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ ।
नेपाली कांग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ’ विज्ञप्तिमा उल्लेख छ, ‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ ।’
कांग्रेसले हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन अपिल पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ पुस २०८०, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई
अध्ययनकको क्रममा रहेको बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि निर्णय लिन्छुः प्रधानमन्त्री प्रचण्ड