कास्की । नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा प्रचार गर्ने, स्थानीय कला संस्कृतिको संरक्षण तथा आपसी भाइचाराको विकास गर्ने गरी पोखरामा नेपाल संवत् (नयाँ वर्ष) ११४४ लाई भिन्तुना र्यालीसहित भव्य स्वागतको तयारी गरिएको छ ।
नेवा खल कास्कीले मौलिक तथा राष्ट्रिय संवत्को स्वागतका लागि यही कात्तिक २८ गते बजारका विभिन्न क्षेत्रमा जातीय सांस्कृतिक पोसाकसहित र्यालीको आयोजना गनै लागिएकोे हो ।
नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनबाट नयाँ वर्ष प्रारम्भ हुने हुँदा हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरामा भिन्तुना र्याली आयोजना गरिने नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।
उनका अनुसार यही कात्तिक २८ गते बिहान ७ः३० बजे पोखरास्थित नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शङ्खधर शाख्वाको प्रतिमामा माल्यार्पण गरिनेछ । त्यसपछि कास्कीमा रहेका विभिन्न नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा कचाँ, नेवा मिसा पुचः लगायत विभिन्न जातीय समुदायको सहभागितामा पृथ्वीचोकबाट भिन्तुना र्याली निकालिने छ।
पृथ्वीचोकबाट सुरु हुने उक्त र्याली नयाँबजार महेन्द्रपुल, तेर्सापट्टि हुँदै नेवा छेँ कै भवनमा पुगेपछि समापन गरिने अध्यक्ष पालिखेले जानकारी दिनुभयो । पोखरा र आसपासमा रहेका नेवारी समुदायको झाँकी, बाजा तथा वेशभुषाको प्रस्तुति र प्रचारप्रसार गर्ने उद्देश्यले र्याली आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
र्यालीमा उत्कृष्ट हुने समुहमध्ये प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई रु सात हजार र तृतीय तथा सान्त्वना हुने समूहलाई नगद रु पाँच हजारका दरले पुरस्कारको समेत व्यवस्था गरिएको नेवा पत्रकार पुचः कास्कीका अध्यक्ष अनिशा श्रेष्ठले जानकारी दिइन् । नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत् राष्ट्रिय विभुति शङ्खधर साख्वाले चलाएका हुन् ।
साख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडौँ, ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर नेपाल संवत् चलाएका हुन् । सरकारले नेपाल संवत्का प्रवद्र्धक साख्वालाई विसं २०५५ मा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ कार्तिक २०८०, ११ : ५०
लेखकबाट थप