रोकिएका केयरगिभरलाई पठाइदिन इजरायली राजदूतको आग्रह

सफल खबर संवाददाता

शनिबार, २५ कार्तिक २०८०, १२ : ४९
रोकिएका केयरगिभरलाई पठाइदिन इजरायली राजदूतको आग्रह

काठमाडौँ । नेपालस्थित इजरायली राजदूतावासले रोकिएका २४ जना केयरगिभरलाई पठाइदिन अनुरोध गरेको छ । इजरायल र गाजास्थित हमास समूहको युद्धका कारण इजरायल जान लागेका २४ जना केयरगिभरहरूलाई सरकारले रोकेको थियो । तर, दूतावासले उनीहरूलाई इजरायल पठाइदिन अनुरोध गरेको हो ।

इजरायली राजदूत हनान गोदेरले वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालसँगको भेटमा रोकिएका केयरगिभरहरूलाई पठाइदिन अनुरोध गरेका हुन् । महानिर्देशक दाहालले रोकिएका २४ जना केयरगिभरलाई इजरायल पठाइदिन अनुरोध गरिएको बताए । 

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको लागि छनौट भई भिसा समेत आएका २४ जनाको असोज २४ गते उडान तालिका थियो । अन्तिममा आएर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरूलाई उडानमा रोक लगाएको थियो । इजरायल र गाजास्थित हमास समूहबिच युद्धका कारण अन्तिम समयमा रोकिएका थिए । त्यसपछि उनीहरूले आफूहरूले जान पाउनुपर्ने माग राख्दै आएका छन् । 

श्रम मन्त्रालय, विभागसँगै अन्य सरकारी निकायमा उनीहरूले जानुपर्ने माग राख्दै आएका हुन् । तर, सरकारले इजरायलमा युद्धको अवस्था रहेको भन्दै अवस्था सामान्य बनेपछि मात्रै पठाउने बताउँदै आएको हो । 

प्रतिक्रिया दिनुहोस