- डा. सबिता सुबेदी
समय आफ्नै गतिमा बगिरहेको थियो | जिन्दगी आफ्नै रफ्तार मा चलिरहेको थियो | बसन्त ऋतुको आगमन संगै नयाँ पालुवा , ढकमक्क फुलेका फूलहरु, कोइलीको कुहुकुहु आवाज , सुर्य दिनभरिको थकान मेट्ने प्रयास गर्दै साँझ बोलाइरहेको , चराचुरुंगी चारा बोकी गुडँ तर्फ लागिरहेका थिए भने, सिमलको रुखमुनी बसी उक्त रुखको एक हाँगामा जवान एक जोडी सुगाहरुको प्रेमिल संसार नियालिरहेको म उनीहरुको दु:ख सुख हेर्दै कहिले रुन्थे ,कहिले बेस्सरी हास्थे कहिले प्रेम को मातमा लडबडीरहेका उनीहरुलाई एकोहोरो हेर्दै आफ्नै सपना बुनिरहेको हुन्थे |
त्यो दिन भालेसुगा को जन्मदिन थियो उसले नुहाइधुआइ गरि आहारा खोज्न तयार हुन्छ | त्यहि बेला पोथी सुगाले भन्छे "आज त तिम्रो जन्मदिन , मेरो अन्तिम समयमा तिम्रो अंगालोमा बेरिन पाउ |यहा भन्दा अरु केहि चाहिदैन |"
हतार हतार भाले सुगा भन्छ "त्यस्तो दिन कहिले पनि नआओस भुन्टी | जुनी जुनी अमर हुनु पाउँ ,यदि आइहाल्यो भने पनि त्यो दिन तिम्रो अन्तिम दिन नभई मेरो पनि अन्तिम दिन बनोस | हाम्रो अन्तिम दिन होस् | "
यति भन्दा पोथी सुगा रोइरहेकी थिइ | भाले सुगा उसलाई अंगालोमा बेर्दै लामो सास फेर्छ |
पोथी सुगा फेरी भन्न लाग्छे आज मैले हजुरलाइ नाम दिन्छु है ?
हास्दै भाले सुगा भन्छ "ल भनन मलाई सुन्न हतार छ क्या ?
पोथी सुगा पुलुक्क उसलाई हेर्दा ,उ उत्तर को प्रतिक्षा मा कौतुहलता ले भरिएका आँखा हरु देखि , जिस्काउदै भन्न लाग्छे " तिम्रो नाम भुन्टे"
साच्चै मोटो मोटो छोटो कद भएको भाले सुगा लाइ नाम असाध्दै सुहाउँछ|
उ खित्का छोड्दै भन्छ "क्या मिलाएकी लाटी | यो पनि बाठी पो भै छेत | यो जन्मदिनको उपहार भयो मलाई | म भुन्टे भएपछी तिमि चाँही मेरी भुन्टी ल "
तर सर्लक्क लामो काक्रा को चिरा जस्तै शरिर, निकै सुन्दरी, बैंस ले भरिएकी पोथी सुगा लाइ यो नाम भने फिटिक्कै सुहाएमान थिएन |
झलक्क भुन्टे ले आहारा खोज्न जानु पर्ने सम्झदै उ तयार हुन लाग्छ |
त्यहि बेला भुन्टी ले हिजो लुकाएर राखेको कनिका देखाउँछे र भन्छे " भोलि तिम्रो जन्मदिन भनेर हिजो एउटा घरको बरण्डा मा सुकाएर राखेको कनिका चोरेको नि | त्यो घरकी छुची बुढी ले धन्न्नै मारिन नि | हामीले पनि खानु पर्छ भन्नि के थाहा त्यो घैंटीलाइ | आज हामी दिन भरि दु :ख नगरी बस्नी ल | "
भुन्टी को माया देखि भुन्टे मख्ख पर्छ र भन्छ " अब देखि बरण्डा को खाना टिप्न नाजानु है | मेरी भुन्टी लाइ केहि भइहाल्यो भने ? "
म भने मन मनै सोचिरहेको थिएँ " कस्तो रमाइलो जिन्दगी , न राम्रो लुगा लगाउनु पर्नी न मिठो मसिनो भन्दै भिआइपी होटल मा खाना खाना जानु पर्नी | अहो ! यस्तो पो जिन्दगी |” त्यति बेला पोहोर सालको जन्मदिन मा लुगा किन्दिनुपर्यो भन्दा बा आमा ले किचकिच गरेको सम्झिरहेको थिएँ |
यस्तैमा भुन्टे पखेटा फिजाएर भुन्टी लाइ अंगालोमा बोलाउँछ | भुन्टी मसक्क परेर टासिन जान्छे |अचानक भुन्टी भुन्टे लाइ लामो सास फेर्दै सोध्छे " भुन्टे मलाई कति माया गर्छौ हँ ?"
बोलि भुइमा खस्न पाइरहेको थिएन भुन्टे भन्छ " संसारको कुनै प्रेमीले नगर्नी माया गर्छु भुन्टी "|
फेरी भुन्टी भाबुक भएर भन्छे "शायद मलाई लाग्छ समय बलवान हुन्छ भुन्टे | म अहिले जवानी राम्री छु जो कोहीले पनि सजिलै अपनाउन सक्छ | तर के तिमी मलाई बुढेस्कालको अत्यास लाग्दो दिनहरुमा ,जिन्दगीका उतारचढाप हुदैँ चारा खोजेर खुवाउन नसक्नी हुँदा ,बाहिरी सुन्दर आवरण मा औँसी लागेका बेला , मेरो आफ्नो कोहि नभएको बेला, मेरो अन्तिम सास सम्म पनि यस्तै माया गर्छौ त भुन्टे ?"
यति भन्दा भुन्टे दंग पर्छ | हिजो सम्म चुलबुले भुन्टी आज एक्कासी शान्त गहकिला प्रस्न गरेको देख्दा भुन्टे बेहोसीमा हेरिरहेको हुन्छ |
भुन्टी भने भुन्टे को उत्तर खोजिरहेकि थिइ |
यत्तिकैमा भुन्टे झस्किदै भन्छ "म तिमीलाई जुन अवस्थामा पनि साथ दिनेछु र तिमीले पनि दिनेछौ भन्नि कुरामा बिस्वस्त छु भुन्टी |"
यस्तै यस्तै मनमोहक लठ्ठ बोली सुनिरहने दर्शक म आफ्नो एक्लो जिन्दगीको निरसताले बिथोलिरहेको हुन्थ्यो |
यसरी दिन रात हुदैँ समय आफ्नो रुप रंग फेरिरहेको थियो | नभन्दै त्यस गुडँमा उनीहरुका मायाका टुक्राहरू पनि हुर्किदै अवस्थामा थिए |भुन्टे र भुन्टी दिन रात खटिएर ति बचेराको पालन पोषण मा तल्लिन थिए |
भोलि पल्ट आउला भनि म आफ्नो घर तर्फ लागेँ |समय साचै नै बलवान हुने रहेछ भोलिपल्ट मा त्यस रुख तर्फा लाग्दा देखे कि सिमलको रुख काटिएको थियो |भुन्टे र भुन्टी का प्राण जस्तै उड्न नसक्नी बचाराहरुलाई बेलुका को छाक बनिरहेका थिए | मानब नाम का दनाब हरुको दानबीय ब्यबहार ले रिस उठेको थियो |भुन्टे हाँगा ले थिचिएको रहेछ , मैले भुन्टे लाइ निकालिदिए र भुन्टी आएर बिस्तार बिस्तार भुन्टे लाइ लिएर गई |तिनीहरु त्यो रात सुत्न सकेनन , उनीहरु रोइरहेका थिए भने मा पनि उनीहरुलाई सम्झेर भाबबिहोल भैरहेको थिएँ |
भोलि बिहान भयो मा हतास हतास त्यो रुख तर्फ लाग्न थाले यही बेला आमाको गालि बर्सिन थाल्यो | यति बिहानै कहाँ जान लागेकी ? असार को महिना हामीलाई चटारो छ कामको यो केटि को काम छैन | खुरुक्क भैंसी लै कुड़ो पका |
मलाई भने जसरि नि ति जोडीलाई हेर्नुथ्यो | अल्ली अटेरी स्वभाब को म नटेरी बेस्सरी दौडेर त्यहि पुगेँ |भुन्टे आराम गरिरहेको थियो र भुन्टी चारा खोज्न गएकी थिइ |भुन्टी सबै पिडा भुली दिन रात खटिएर चारा खोज्दै ,भुन्टे को स्याहार गर्दै गुडँ निर्माण पनि गरिरहेकी थिइ | भुन्टे भने घाइते भएकोले आराम गरिरहेको थियो |
यसरी जोडी फेरी नयाँ संसार बनाउन तल्लिन थिए | जस्तो सुकै परिस्थितिमा पनि डटेर जिउनु पर्छ भन्ने कुरा यी जोडी बाट सिकिरहेको थिएँ | भुन्टे पनि ठिक हुदैँ जान्छ र जमुना को बोटमा बनिएको गुड पनि निकै सुन्दर हुन्छ |
आज फेरी भुन्टी को जन्मदिन , सधैजसो भुन्टेले भुन्टीको जन्मदिनको दिन सबै भन्दा माथिको हाँगा मा गएर भुन्टीलाई माया गर्छु भन्दै चिच्याउथ्यो | यो साल पनि भुन्टी त्यहि आस गरिरहेकी थिइ |
साँझ पर्दा सम्म पनि भुन्टे ले भन्दैन | भुन्टी ठुस्सिरहेकी थिइ | त्यहि पनि भुन्टे त्यस्तो भन्ने तरखर मा थिएन | साँझ पनि ढल्किदै थियो , भुन्टे गुडँ छोडेर केहि पर गयो |भुन्टी भने रिस ले को आगो भइरहेकी थिइ |केहि बेरमा भुन्टे आइपुग्छ | उ उडेर रुखको माथिल्लो हाँगामा जान्छ र भुन्टीलाई चिचाउदै बोलाउछँ | अघि सम्म ठुस्सिएकी भुन्टी हतासिदै भुन्टे भएको ठाउमा जान्छे तर भुन्टे लाइ देख्दिन तर आवाज भने सुनिरहन्छे | उसले भुन्टीलाई माया गर्ने र गरिरहने भनि चिच्चारहेको हुन्छ | अकस्मात भुन्टी को पछाडी बाट सुटुक्क साउती मार्छ र भन्छ " भुन्टी मेरो मुटु |" भुन्टी झसङ्ग हुन्छे तर मख्ख पर्छे | भुन्टे ले गुलाब को फुल चुच्चो मा च्यापेर भुन्टीलाई दिन्छ | भुन्टी नखरा पार्दै फुल लिन्छे |
म भने मायाको औडाहा देखि खलखल पसिना ले भिजिरहेको थिएँ |त्यो सबै पल्लो रुखका भंगेरा का जोडीले पनि देखिरहेका थिए | त्यसलगत्तै भाले भंगेरा ले पनि आफ्नी पोथीलाई फुल ल्याएर भुन्टे ले झैं माया दर्साउँछ |यसरि ओल्लो पल्लो रुख का परेवाका , ढुकुर का , गौथालिका सबै सबै भालेले पोथीलाई माया देखाउँछन |
यसरी बाताबरण नै प्रेममय हुन्छ |
यस्तै यस्तै लिला गर्दै वर्ष सिद्दिदै थियो | चैतको हावाहुरी र पानीले बेला बेला दुख भने दिइरहेको थियो |सुख र दुख जिन्दगीका दुइ पाटा जस्तै रहेछ | कहिले बसन्त कहिले शिशिर जस्तै रहेछ जिन्दगी भन्ने कुरा म अल्लारेले पनि सिकिरहेको थिएँ |
एक दिन को कुरो थियो , त्यस रात बेस्सरी हावा हुरी चलिरहेको थियो | रुख र रुख का हाँगा बिँगा सबै भाँचिरहेका थिए | म भने तिनै जोडीलाई सम्झिएर सुत्न सकिरहेको थिइन |
भोलि बिहान त्यहाँ पुग्दा भुन्टेले भुन्टीलाइ खोजिरहेको थियो | भुन्टी भने हराएकी थिइ | उनीहरुले बनाएको गुड भत्किएर भुइँमा थियो |बिहान देखि भुन्टे भुन्टी लाइ खोजिरहन्छ | दिनभर नपाएपछि उसलाई भुन्टी मरेको लाग्छ| उसलाई अब त्यो ठाउँ बस्न मन लाग्दैन | त्यस पछी त्यहाँ बाट धेरै पर जानी निर्णय गर्छ |
नभन्दै भोलि बिहान भुन्टे उडेर जान्छ |जादाँ जाँदै उ यस्तो ठाउँमा पुग्छ जुन स्वर्ग जस्तै सुन्दर हुन्छ | हरिया रुखमा लटरम्म फलेका फलहरु , कलकल बगेका झरना ले बनेको खोली , चमेली फुल को बासना मा लट्ठ मौरी हरु आहा !साँच्चै मनमोहक थियो | त्यत्तिकैमा एक हुल राम्रा राम्रा अप्सरा जस्तै पोथी सुगा हरुलाइ देख्छ | यो दृश्यले भुन्टलाई सुकुन मिल्छ |तत्काल उसले भुन्टीलाई नबिर्सिएपनि बिस्तार बिस्तार बिर्सिएको हुन्छ | यस्तैमा समयको संयोग उसको भेट एक सुन्दरी पोथी सुगा संग हुन्छ | दुबैले आफ्नो नाम भन्छन् | त्यो पोथी सुगा को नाम सिमा हुन्छ |आफ्नो नाम भुन्टे बताउँदा सिमा बेस्सरी खित्का छोडेर हास्छे | तर भुन्टे भने झसंग भुन्टीलाई सम्झन्छ | जुरुक्क उठेर त्यहाँ बाट जान्छ |
अर्को दिन सिमा भुन्टे लाइ खोज्दै आउछे र भुन्टे संग हिजो जिस्काएर उसलाई नराम्रो लागेकोमा माफी माग्छे | तर भुन्टे लाइ भुन्टे नाम ले जिस्काएको नभई भुन्टीको यादले सताएको कुरा त्यो सिमा लाइ थाहा हुदैन |
यसरी बिस्तार बिस्तार उनीहरु बीच माया प्रेम बस्छ |
म भने बिभिन्न प्रस्न हरु तेर्साउदै सुत्न सकिरहेको थिइन |" के भुन्टेले भुन्टीलाई साच्चै बिर्स्यो त? के भुन्टे को माया स्वार्थी थियो त?" फेरी म मानब जगत तिर फर्किएर हेरेको थिएँ | हुनत हाम्रो अंकल ले पनि आन्टी बितेको २ महिना मा बिबाह गरेका थिए | संसार नै यस्तै रहेछ भन्दै दिक्क मानिरहेको थिएँ |
यता भुन्टी हाँगा बिँगा बाट थिचिएकी थिइ | बल्ल बल्ल त्यहाँ बाट निस्किएर भुन्टे लाइ खोजिरहेकी थिइ |कयौ दिन को भोक र हाँगा बिँगा को चोट ले भुन्टी कुरूप देखिएकी थिइ | उसलाई भुन्टे जिउँदो छ कि छैन त्यो पनि पत्तो हुदैँन |
भुन्टे तिमि कहाँ छौ ? तिम्री भुन्टी तिमीलाई खोजिरहेकी छ | पृथ्बी गोलो छ , अवस्य भेट हुनेछ | म जस्तै तिमिलाई दुख परेको त छैन ? अनि के खाएको होला ? त्यस्तो तिमीलाई नहोस | "
उसले भगवान संग भुन्टे को जिबन र उसंग को भेट माग गरिरहेकी थिइ |
नभन्दै एक वर्ष पछि भुन्टेको जन्मदिन को दिन भुन्टे लाइ देख्छे | त्यो सुन्दर ठाउ र उसको प्रिय भुन्टे अनि उसको जन्मदिन ले भुन्टी आँखा भरि आसु पार्दै बेस्सरी कराउदै भुन्टे लाइ बोलाउँछे |यता भुन्टे भुन्टी को आवाज सुनेर हतास हतास आवाज पछ्याउदै जान्छ |जब उसले भुन्टीलाई देख्छ उ छाँगा बाट खसे जस्तै हुन्छ | भुन्टी भने भुन्टेको अंगालोमा बेरिएर रुन चाहन्थी |रुदै आफुले पाएका दुखः साट्न चाहन्थी र कति संघर्षले उसलाई भेटेको सुनाउन चाहन्थी |
यत्तिकैमा भुन्टे ले भुन्टीलाई धकेलेर आफ्नी भुन्टी राम्री भएको हुदा उ आफ्नी भुन्टी नभएको भन्छ|
भुन्टी अतासिदै सबै कहानी सुनाउछे | उ संगै खाएका बाचा सबै सुनाउछे |तर ति सबै फुङ्ग उडेको फुल मा रंग र बासना खोजे जस्तो हुन जान्छ |अन्तिम मा भुन्टे ले भुन्टीलाई त्यस्तो सुन्दर ठाउमा नसुहाउने ठान्दै , उसको पछी नलाग्ने चेतावनी दिन्छ |
भुन्टी रुदै भन्छे " भुन्टे को भुन्टी नराम्री रहिछे ,तर हिम्मत अझै हारेकी छैन | बुढी हुन भन्दा अगाडी नै छोडिदियौ, चित्त अलि कम दुखेको छ, यो भुन्टी अझै त चारा खोजेर आफ्नो ज्यान पाल्न सक्छे | त्यसको लागि धन्यबाद | मेरो भुन्टे जिउदै छ कि छैन भनेर खोजेकी थिए तिमि सकुसल मात्रै होइन धेरै सकुसल रहेछौ | म बेकार मा चिन्ता गरेकी रहेछु |अब यो भन्दा मलाई अरु केहि चाहिदैन |
यति भन्न नपाउदै सिमा आइपुग्छे र भुन्टे लाइ अंगालोमा बेर्छे | भुन्टी मन बाट रुँदै उनीहरुलाई आशिर्बाद दिदै त्यहाँ बाट लाग्छे |
सिमा र भुन्टे घर पुग्छन र सधै जस्तो रात परेकाले निदाउँछन् |यसरि दुइ जोडीको जिन्दगी चल्दै जान्छ |
एक दिन को कुरा हो | उनीहरु गफ गर्दै रुखमा बसिरहेका थिए | सिकारीले उनीहरुलाई देख्छ | नभन्दै सिकारीको गुलेली लागि भुन्टे भुइमा खस्छ | तल ठुलो झाडी भएको कारण ले सिकारीले भुन्टेलाई भेट्दैन |केहि समयपछि सिमा ले भुन्टे लाइ बोकेर आफ्नो गुड मा राख्छे |भुन्टेको पखेटा मा ठुलो चोट लागेकाले उड्न सक्दैन |
भोलि बिहानै सीमा चारा खोज्न जान्छे | जाडो याम थियो दिनभर चारा खोज्दा नि सिमा लाइ दुइ जना लाइ पुग्नी चारा खोज्न मुस्किल पर्छ | बल्ल तल्ल बेलुका हस्यांग फस्यांग गर्दै घर आइपुग्छे र दुबैले बाडेर आधि पेट खाएर सुत्छन् | केहि दिन यस्तै प्रक्रिया चलिरहन्छ तर पनि भुन्टे उठ्न सकिरहेको हुदैन |
अब भने सिमा लाइ भुन्टे देखि वाक्क लागिसकेको हुन्छ | उसले मनमनै सोच्दै " यो छिटै निको नहोला जस्तो छ | उस्तै परे निको नहुन नि सक्छ | म यसलाई स्याहार गरेर कति दिन बस्नु | मलाई जसले भन्यो त्यसले लैजान्छन् | म भोली बिहानै छोडेर जान्छु |
भोलि बिहान हुन्छ , सिमा उठ्छे | भुन्टे पनि उठ्छ |भुन्टेले सीमालाई भन्छ "सिमा तिमीले धेरै दुख गरेकी छौ | म सन्चो भएपछी तिमीलाई एउटा पनि काम गर्न दिन्न |सुख सित राख्छु |"
सिमा केहि नबोली जान्छे र एउटा भाले सुगा बोकेर ल्याउँछे | सिमा बोल्छे "भुन्टे म यसै संग हिड्न लागेकी | यसले अलिकति चारा ल्याएको छ त्यहि मिलाएर खाउ त्यतिबेला सम्म पनि त तिमीलाई निको होलानी | मलाई देखेर तिमीलाई काम गर्न मन नलागेको जस्तो लाग्यो | मलाई उसले धेरै माया गर्छ सुख सित पाल्छ | म चाँहि लागे |"
भुन्टे एकोहोरो टोलाइरहन्छ ,आसु टिलपिल पार्दै बल्ल केहि बर्ष अगाडी स्याहार गरेकी भुन्टीलाई सम्झिन्छ | स्वर्ग जस्तो ठाउ एकाएक मरभुमी जस्तो लाग्छ | उसलाई पछुतो लाग्छ र सन्चो भएपछी सधै मैना लाइ साथ दिने बाचा गर्दै बस्छ |
नभन्दै उ सन्चो हुन्छ | मलाइ भने खुसीको सिमा नै थिएन | दुइ जोडीले माया को चौतारी मा बिश्राम गर्ने दिन आएको थियो |उसले सात महिना पछी घुम्दै घुम्दै त्यहि जमुनाको बोटमा पुग्छ | उसको हिजो हास्खुसी जिन्दगी सम्झिन्छ | सबै कुरा कहानी जस्तै बनिसकेका थिए |फेरी त्यहि दिन फर्कियोस भन्ने चाहना मा भुन्टी खोजिरहन्छ |
एक्कासी उसले एउटा लास देख्छ | कमिला हरुले घेरेर बसेका थिए | नजिकै गएर हेर्छ |
त्यो भुन्टी थिइ | उ भुन्टीको लास वरिपरिका कमिला हतार हतार हटाउँछ र लास माथि अँगालो मार्दै रुन्छ चिच्याउँछ |
"भुन्टी तिमीले तिम्रो दुख पोख्दा कमसेकम अलिकति भएपनि सुन्ने मा थिए | आज मा बिब्हल हुदा सुन्ने कोहि छैन| भुन्टी मैले तिमीलाई चिन्न सकिन | मा पापी हुँ र स्वार्थि पनि | म आफुलाई आज जति ठुलो सजाय दिए पनि माफीको लायक छैन |
तिमीले भन्ने गर्थ्यौ नि भुन्टी " समय बलवान हुन्छ तर आज मैले थाहा पाए समय र माया दुवै बलवान हुन्छ |भुन्टी सयौ जुनी तिम्रै हुन पाउ भन्दै लास माथि गुलाब को फुल राख्दै भुन्टे ले ठुलो ढुंगा निल्दै छटपटिदै प्राण त्याग गर्छ |
यसरि दुइ जोडीको अन्त्य हुन्छ | माया आफैंमा शक्तिसालि छ |मायालाइ बाहिरि भौतिक चिज संग घोल्नु हुँदैन | माया गर्न कारण चाहिदैन | यो त स्वत स्फुर्त हुने कुरा हो | माया खोज्दैमा पाउने चिज होइन | माया देखिदैन तर इश्वर जस्तै आभास भैरहन्छ | दुखको संघार मा इश्वर र माया जस्तो अरु केहि हुदैन |
प्रतिक्रिया दिनुहोस