लुम्बिनी । रुपन्देहीका स्थानीय तहले जाजरकोटको भूकम्पपीडितका लागि राहत प्रदान गरेका छन् । बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावितका लागि राहत सामग्री पठाएको छ । चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, कम्बल र म्याट गरी एक ट्रक सामान जाजरकोट पठाइएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
भूकम्पपीडितका लागि उपमहानगरपालिकाले रु २५ लाख, जनप्रतिनिधिले थप रु पाँच लाख र कर्मचारीको तर्फबाट समेत सहयोग गर्ने निर्णय भएको प्रमुख पाण्डेले बताए ।यस्तै तिलोत्तमा नगरपालिकाले रु १० लाखसहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री त्यसतर्फ पठाएको छ । नगरप्रमुख रामृष्ण खाँणले भूकम्पले नराम्ररी क्षति पुर्याएका दुई जिल्लाका लागि पालिकाको विपद् कोषबाट जाजरकोट र रुकुम पश्चिमलाई रु पाँच÷पाँच लाख सहयोग गरेको बताए ।
यस्तै रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल भूकम्पपीडितका लागि राहत लिएर जाजरकोट पुगेका छन्। दुवैजना चामल, चिउरा, खानेतेल, चाउचाउ, सोयाबिन, दालमोटलगायत खाद्य सामग्रीसहित जाजरकोट पुगेका हुन् ।
यसैगरी सियारी गाउँपालिकाले भूकम्पपीडितका लागि खाद्यान्न तथा लत्ताकपडासहितको राहत सामग्री पठाएको छ । यस्तै विभिन्न सङ्घसंस्थाको सहयोगमा सिद्धार्थनगर नगरपालिकाले सङ्कलन गरेको राहत सामग्री जाजरकोट पठाइएको छ । रोहिणी गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रमा रु चार लाख बराबरको राहत सामग्री पठाउने निर्णय गरेको गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिका प्रमुख कल्पना खनालले बताइन् ।
भूकम्पपीडितलाई बाँके र बर्दियाबाट १० लाखको राहत
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई नेकपा एमाले बाँके र बर्दियाको तर्फबाट करिब रु १० लाख बराबरको राहत सामग्री प्रदान गरिएको छ । भूकम्पपीडितलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा र कम्बलको व्यवस्था गरी प्रभावित क्षेत्रमा पुगेर जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार एमाले बाँकेको तर्फबाट जाजरकोटका भूकम्पपीडितका लागि ९८ बोरा चामल, तीन सय ५० थान कम्बल, लत्ताकपडा, चिउरा, भुजा र चाउचाउ गरी रु पाँच लाख ७५ हजार बढीको राहत सामग्री प्रदान गरिएको छ ।
एमाले बर्दियाको तर्फबाट रुकुम पश्चिमका भूकम्पपीडितलाई रु चार लाख ७५ हजार बराबरको एक सय क्विन्टल चामल प्रदान गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभएकी एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले तत्काललाई राहतस्वरुप खाद्य सामग्री र लत्ताकपडा तथा कम्बल उपलब्ध गराइएको बताइन् । अर्यालको नेतृत्वमा बर्दियामा रहेका केन्द्रीय सदस्य, सांसद र पार्टी नेता राहत लिएर सोमबार जाजरकोट पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा लगातार भूकम्प, १८ दिनमा १० धक्का
मुगु केन्द्रबिन्दु भएर फेरि भूकम्प
सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरको भूकम्प
बैतडी केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
कालिकोटमा ३.६ म्याग्निच्युडको भूकम्पको धक्का
कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर भूकम्प