चितवन । भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढमा बसोबास गर्नेहरूले आफ्नो घरको छतबाट निस्कने पानीको व्यवस्थापन नगरे सेवा नपाउने भएका छन् ।
छतको पानी सिँधै सडकमा पुग्ने गरी फाल्दा बजारमा समस्या आएपछि कडाइ गरिएको हो । भरतपुर महानगरपालिका-१ ले पानी व्यवस्थापन नगरे स्थानीय निकायबाट दिइने सेवा बन्द गर्ने भएको छ ।
वडाध्यक्ष केशव महर्जनका अनुसार लायन्सचोक, सहिदचोक, पुलचोक, मिलनरोड, मेनरोड, प्रगतिपथ, बालकुमारी क्याम्पस रोड, पोखरा बसपार्क, लीलाचोक र उद्योग वाणिज्य सङ्घ टोललगायतका क्षेत्रमा भएका घरले आफ्नो छतमा आएको पानी सिँधै रोडमा फाल्दा सर्वसाधारण पैदलयात्रुदेखि व्यवसायीलाई समेत समस्या परेको गुनासो आएपछि सेवा बन्द गर्ने निर्णय गरिएको हो ।
वडाध्यक्ष महर्जनले भने, “हामीले पटक-पटक सूचना जारी गरेका छौँ ।अब कार्यान्वयनमा जाने समय आयो”, सडकमा पानी फाल्दा सडक बिग्रने, यात्रुहरूले समस्या भोग्नुपर्ने उनले बताए ।
गत वैशाखमा सूचना जारी गरेको भए पनि यसको कार्यान्वयनमा नआएपछि पटक-पटक गरी बुधबार तेस्रोपटक सूचना जारी गरिएको हो ।“मुख्य बजार क्षेत्रमा रहेका दुई हजार दुई सय घरधुरीमा यो समस्या रहेको छ । पानी व्यवस्थापन नगर्ने घरलाई वडा कार्यालयले दिने सेवामा रोक लगाउँछौँ”, उनले भने ।
सूचना जारी भएको सात दिनपछि कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए।कार्यान्वयनमा आएसँगै बजार क्षेत्रका घरधनीले वडाबाट सेवा लिन जाँदा स्थलगत निरीक्षण गरेर मात्रै सेवा प्रवाह गरिने छ ।
“वडाको निर्णय नमान्ने हो भने मानवीय संवेदनासँग जोडिएका विषय बाहेक अन्य सेवा दिन वडा कार्यालय बाध्यकारी हुनेछैन”, उनले भने । घरको छतमा जम्मा भएको पानी पाइपमार्फत व्यवस्थापन गर्न वडा कार्यालयले आफ्नो क्षेत्रमा रहेका १२ टोल विकास संस्थालाई परिपत्र गरेर जानकारीसमेत गराइसकेको छ ।
पहिलो चरणमा सहरी क्षेत्रमा यो निर्णय लागू गर्न लागिएको हो । बिस्तारै अन्य क्षेत्रमा पनि यो नियम लागू गर्दै जाने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १७ कार्तिक २०८०, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम
सयपत्री र मखमली मालाको मूल्य निर्धारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड
आगामी एसईईको नतिजा सुधारमा जुट्यो भरतपुर महानगर, विद्यालयहरुले तोके लक्ष्य