काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रचुर अवसरहरू भएकाले लगानी बढाउन बेलायतमा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रह गरेका छन् । नेपाल जनसम्पर्क समिति बेलायतले लण्डनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको जलविद्युत् र पर्यटनमा लगानीको प्रतिफल उच्च रहेकाले लगानी बढाउन आग्रह गरेका हुन् ।
सो अवसरमा उनले बेलायतस्थित गैरआवासीय नेपालीको समेत लगानीमा चन्द्रागिरि हिल्स तथा केबलकार सञ्चालनमा ल्याएको स्मरण गरे । चन्द्रागिरि हिल्स नेपालकै आकर्षक पर्यटन गन्तव्य बनेको र उच्च प्रतिफल दिएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ढकालले लगानी बढाउन हिचकिचाउनु पर्ने कारण नरहेको बताए ।
सातै प्रदेशमा चन्द्रागिरिजस्तै हिल स्टेसनसहितका केबलकार परियोजना अघि बढाएको उल्लेख गर्दै उनले आफू जन्मे–हुर्केको प्रदेशमा रहेका पर्यटकीय पूर्वाधार परियोजनामा लगानी गर्न पनि गैरआवसीय नेपालीहरूलाई आग्रह गरे । कास्कीको सिकलेस, ताप्लेजुङको पाथीभरा र कर्णाली चिसापानीको जालपादेवी केबलकार परियोजना निर्माणको चरणमा प्रवेश गर्न थालिसकेकाले लगानीको अवसर हातमै आइपुगेको पनि अध्यक्ष ढकालले स्मरण गराए ।
यसैगरी गैरआवासीय नेपालीहरूसँगको सहकार्यमा म्याग्दीमा जलविद्युत् परियोजना सम्पन्न भइसकेकोले अन्य परियोजनामा समेत लगानी बढाउन अध्यक्ष ढकालले आग्रह गरे ।विश्वव्यापी संकटका असरले नेपालको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै गएको, उल्लेख्य रूपमा रेमिट्यान्स भित्रिएको, पर्यटक आगमनमा सुधार भएको र बैंकिङ क्षेत्रमा लगानी योग्य रकम बढिरहेकाले लगानीको वातावरण सुधार भइरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
सामाजिक सञ्जालमार्फत फैलिने नकारात्मक कुरालाई ध्यान नदिएर नेपालमा रहेका लगानी अवसरहरूलाई छोप्न पनि अध्यक्ष ढकालले आग्रह गरे । लगानी तथा प्रतिफलका हिसाबले नेपालमा अवसरै अवसरको सम्भावना भएकाले त्यसबाट फाइदा उठाउन ढिलाइ नगर्न पनि उनले अनुरोध गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ कार्तिक २०८०, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक छ: अध्यक्ष ढकाल
चर्चा कमाउनका लागि मात्रै निर्णय नगरौँ : अध्यक्ष ढकाल
निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ : चन्द्र ढकाल
स्याङ्जाको सुन्तला र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता
सीआईपी सम्मान दिने निश्चित मिति घोषणा गरौँ : अध्यक्ष ढकाल
महासङ्घ अध्यक्ष ढकालको आग्रह– सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखौँ