काठमाडौँ । प्यालेस्टिन विद्रोही समूह हमासको आक्रमणमा परि इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये चार जनाको शव काठमाडौँ आइपुगेको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरूको शव नेपाल ल्याइएको परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल आइपुगेको हो । न्यौपानेको शव गए राति आइपुगेको थियो भने धामी र विष्टको शव आज बिहान आइपुगेको हो । चौधरीको शव आज दिउँसो २ बजेर ४० मिनेटमा नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस आक्रमणमा परि ज्यान जाने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, धनुषा सापही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, डोटी लामीखाल-८ का पदम थापा र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन् । त्यही आक्रमणमा परि कञ्चनपुर भीमदत्त-३ का विपिन जोशी सम्पर्कविहीन छन् ।
आक्रमणमा परि मृत्यु भएका बाँकी छ जना नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ । नेपाल ल्याइएका शव नेपाली सेनाको हेलिकोप्टरमार्फत आजै कैलालीको धनगढी लैजाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पुर्याउने व्यवस्था गरिएको छ । केही दिनअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलबाट फर्किन चाहनेमध्ये दुई सय ५४ जना विद्यार्थीलाई नेपाल ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ कार्तिक २०८०, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु
इजरायलले थाल्यो गाजा क्षेत्रको रफामा आक्रमण
लेबनानबाट उत्तर इजरायलमा रकेट प्रहार
इजरायलले हमासलाई युद्धविरामको जवाफ दिन एक साताको समय दियो
इजरायल र हमासबीच युद्ध विरामको संकेत
वायु सेवा निगमको न्यारोबडी जहाज आज काठमाडौँ ल्याइदै