-दवेन्द्र सुवेदी
बलात्कार र त्यसपछिको हत्या अत्यन्तै संवेदनशील घटना हुन्, यस्ता घटनाले समाजलाई एकैपटक उद्वेलित तुल्याउँछ
अनुसन्धान ‘रिएक्टिभ एप्रोच’ हो । पहिले घटना हुन्छ, त्यसपछि जाँच–पड्ताल हुन्छ । पत्ता लगाउने विषय त्यसपछि मात्र हुने कुरा हो । जसमा एउटा पक्ष पीडित हुन्छ भने अर्को पीडक । अनुसन्धान यही वरिपरि घुम्छ । दशी प्रमाण पनि यही वरिपरिबाट जुट्छ । सुरुमा सबै पक्ष लुकेका हुन्छन् वा लुकाइएका हुन्छ । जुन सरसर्ती हेर्दा थाहा हुँदैन । जब अनुसन्धान सुरु हुन्छ तब यी पक्ष खुल्दै जान्छन् । कञ्चनपुर घटनाको अनुसन्धान पनि यही एप्रोचबाट सुरु भएको हो ।
यसमा बुझ्नुपर्ने पक्ष के भने बलात्कार र त्यसपछिको हत्या अत्यन्तै संवेदनशील घटना हुन् । यस्ता घटनालाई मान्छेले आफैसँग जोडेर हेर्छन् । यस्ता घटनाले समाजलाई एकैपटक उद्वेलित तुल्याउँछ । जुन स्वाभाविक पनि हो । यसले तीन–चारवटा मनोभाव सिर्जना गरिदिन्छ । त्यसमध्ये एक हो आक्रोश । सँगै त्यहाँ असुरक्षाको मनोभाव पनि पैदा हुन्छ । जसले समाजलाई प्रभावित तुल्याउँछ । यो स्वाभाविक रूपमा हुने ‘साइकोलोजिकल टर्म’ हो । अझ साना उमेरका बालबालिकामाथि यस्ता घटना भए भने समाज झन् छिटो उद्वेलित भइदिन्छ । किनकि यस्ता घटनाले समाजमा तुरुन्तै असुरक्षित मनोभावको विकास गराइदिन्छ । जुन तुरुन्तै ‘रिएक्टिभ’मा बदलिन्छ ।
प्रहरीले यहीबीचमा आफ्नो अनुसन्धान थाल्नुपर्ने हुन्छ । यस क्रममा प्रहरीले कति व्यवसायी र संवेदनशील ढंगले अनुसन्धान गरिरहेको छ भन्ने कुरा अनुसन्धानका क्रममा भेटिएका दशी प्रमाणले पुष्टि गर्छ । पीडित पक्षमा ‘एस्युरेन्स’ पैदा गरिदिने भनेको सोही दशी प्रमाणले हो । कतिपय अवस्थामा पीडित पक्षले चित्त बुझाउँदैन । यसका विविध कारण हुन सक्छन् । आक्रोश, प्रतिशोध र असुरक्षाका कारण यस्तो हुन्छ । सुरुवात पीडित पक्षबाट हुन्छ । त्यसमा बिस्तारै अन्य पक्ष जोडिँदै जान्छन् । त्यसपछि समाजको साझा चिन्तनको विषय बन्न पुग्छ । र, त्यसले ‘रियाक्ट’ गर्न थाल्छ । कञ्चनपुरमा भएको यही हो ।
जहाँसम्म अनुसन्धानको पाटो छ । प्राप्त जानकारीअनुसार प्रहरीले व्यावसायिक ढंगले नै अनुसन्धान गरेको देखिन्छ । जसमा नेपालको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) पनि सहभागी छ । अत्यन्तै व्यावसायिक अनुसन्धान अधिकृत खटिएका छन् । यसको अर्थ अनुसन्धानको सबै पक्ष सकियो भन्ने होइन । केही पक्ष बाँकी रहेका हुन सक्छन् । अनुसन्धान प्रतिवेदनप्रति समाज सन्तुष्ट नहुन पनि सक्छ । त्यो अलग विषय हो । तर, अनुसन्धानबाट प्राप्त जुन तथ्य छन्, त्यसलाई सामान्य जनताले बुझ्ने गरी सार्वजनिक गर्न सक्नुपर्छ । जहाँ सामान्य जनताको प्रश्न नहोस् । कञ्चनपुर घटनामा त्यस्तो भएको छ त ? यो पक्ष पनि हेरिनु आवश्यक छ ।
अर्को के भने यस्ता घटनालाई मान्छेले आफूसँगै जोडेर हेर्ने गर्छन् । भोलि आफैँमाथि वा आफ्ना परिवारका सदस्यमाथि यस्तै घटना भयो भने ? यस्ता घटनाले मान्छेको मनोभावमा वास गरिरहेको हुन्छ । यसको फाइदा उठाउँदै कतै कुनै फ्याक्टरले पो काम गरिरहेको छ कि ? जस्तो त्यहाँको स्थानीय प्रहरीको क्रियाकलापबाट विगतका दिनमा स्थानीय आजित पो थिए कि ? त्यो आक्रोश यतिवेला व्यक्त भएको त होइन ? यो पक्षलाई पनि गम्भीर भएर हेरिनु आवश्यक देखिन्छ ।
कञ्चनपुरमा विकसित पछिल्ला घटनालाई बलात्कारसँग मात्रै जोडेर हेर्न हुँदैन । सरकारबाट दैनिक डेलिभरी हुने सेवा र त्यसमा असन्तुष्ट पक्षको आक्रोश प्रतिबिम्बित भएको पो हो कि ? वा अन्य कुनै मिसन बोक्ने फ्याक्टरले पो खेलेको हो कि ?
कञ्चनपुरको घटनालाई अलग ढंगबाट पनि हेर्न जरुरी छ । त्यो के भने प्रहरीको काममाथिको क्रेडिबिलिटी । प्राप्त सूचनाअनुसार कञ्चनपुरमा विकसित पछिल्ला घटनालाई बलात्कारसँग मात्रै जोडेर हेर्न हुँदैन । सरकारबाट दैनिक डेलिभरी हुने सेवा र त्यसमा असन्तुष्ट पक्षको आक्रोश प्रतिबिम्बित भएको पो हो कि ? वा अन्य कुनै मिसन बोक्ने फ्याक्टरले पो खेलेको हो कि ? घटनालाई यसरी पनि हेरिनुपर्छ ।
त्यस्तो होइन र अनुसन्धान वस्तुगत ढंगबाट भएको छ भने त्यसले ढिलोचाँडो निकास पाउँछ । पाउनु पनि पर्छ । यस्तो वेला समाजले पनि संयमता राख्नुपर्छ । यस्तोमा पहिले अनुसन्धानकर्ता आफैँ विश्वस्त हुनुपर्छ । त्यसपछि पीडितलाई विश्वस्त तुल्याउनुपर्छ । यसका विविध टेक्निक छन् । त्यो सचेतपूर्वक अपनाउनुपर्छ ।
तीन वर्षअघि बाराको कलैयामा पनि यस्तै घटना भयो । त्यहाँ पूजा साहको हत्या भएको थियो । झन्डै तीन हप्ता उनको शव धर्नाका रूपमा राखियो । पछि त्यसलाई ‘सेटल डाउन’ गरियो । घटनामा पक्राउ परेका व्यक्तिको विगत हेरियो । घटना गर्ने मनोवृत्तिको विश्लेषण भयो । दशी प्रमाण हेरियो । घटना प्रमाणित भयो । कञ्चनपुर घटनामा पनि यही विधि अपनाइयो । एउटा व्यावसायिक अनुसन्धानकर्ताले गर्ने नै यही हो । तर, यसलाई त्यहाँको समाजले बुझ्न सकिरहेको छैन या हामीले बुझाउन सकिरहेका छैनौँ । यसमा समय लाग्छ । जुन स्वाभाविक हो ।
केही वर्षअघि काठमाडौंको खुसिबुमा यस्तै घटना भयो । एउटा बन्द कोठामा तीनजना विद्यार्थी मृत अवस्थामा फेला परे । यसमा हामीले बिल्कुल साइन्टिफिक अनुसन्धान ग-यौँ । पछि ती विद्यार्थीको मृत्यु कार्बोनमोनोअक्साइडका कारण भएको खुल्यो । हामीले तथ्य सार्वजनिक ग-यौं । तर, त्यसलाई पत्याउन कोही तयार भएनन् । धेरै लामो समयसम्म विरोध भयो । पछि पत्याउन करै लाग्यो । किनकि सत्य त्यही थियो । जुन अनुसन्धानबाट पत्ता लागेको थियो । भारतको नयाँदिल्लीमा आरोशी हत्याकाण्डमा यस्तै भयो । जसको अनुसन्धान अझै पनि सकिएको छैन ।
कतिपय अवस्थामा पीडित पक्ष भेटिएका तथ्य प्रमाणप्रति विश्वस्त नहुन सक्छन् । तर, तथ्य तथ्य नै हो । जस्तो चितवनमा डाक्टर भक्तमान श्रेष्ठको अपहरण भयो । जसमा म आफैँ अनुसन्धान अधिकृत थिएँ । अनुसन्धान सकियो । तर, एउटा पक्ष पत्याउन तयारै भएन । यस्तोमा कहिलेकाहीँ के हुन्छ भने मान्छेले कुनै घटनाप्रति आफ्नो धारणा बनाइसकेको हुन्छ । सोही आधारमा काम अघि बढाइसकेको हुन्छ । त्यसबाट पछि फर्कन गाह्रो भइरहेको हुन्छ । कहिलेकाहीँ प्रहरी यस्तो परिस्थितिबाट पनि गुज्रिनुपर्ने हुन्छ । कञ्चनपुरको घटनामा कतै यस्तै पो भइरहेको छैन ? (सुवेदी नेपाल प्रहरीका पूर्वएआइजी हुन्)
-यो लेख आजको नयाँ पत्रिकाबाट लिइएको हो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०८ भदौ २०७५, ०९ : ३४
लेखकबाट थप