अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सरकारले कुनै ठोस कदम ल्याउन सकेन : पूर्वअर्थमन्त्री पौडेल

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०८०, १६ : ३८
अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सरकारले कुनै ठोस कदम ल्याउन सकेन : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौँ । ​नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण लिनुपर्ने अवस्थामा मुलुकको अर्थतन्त्र पुगेको बताएका छन् । 

उनले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सरकारले कुनै ठोस कदम ल्याउन नसकेको टिप्पणीसमेत गरेका छन् । आइतबार प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको एक कार्यक्रममा उनले मुलुकमा सङ्कटपूर्ण अवस्था कसरी आयो भन्ने विषयमा ध्यान नदिएर सत्तारुढ गठबन्धन दल कसरी सत्तामा बस्ने र रमाउने भन्ने विषयमै केन्द्रित रहेको आरोप लगाए ।

‘मुलुकको अर्थतन्त्रको अपरेसन गर्नुपर्नेमा सरकारले सिटामोल पनि दिन नसकेको अवस्था छ, मेजर अपरेसन गर्नपर्नेछ, सिटामोल छैन, अनि चल्छ ? अर्थतन्त्रको बेथितिलाई यो सरकारले अझै बढाएको छ, नेपाल कालोधनको केन्द्र बन्दैछ, राजस्वबाट साधारण खर्च चल्न सकेको छैन । आन्तरिक ऋण बढ्दै छ, तलब, सामाजिक सुरक्षा कोष, पेन्सन रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ’ पौडेलले भने ।

प्रधानमन्त्री तथा अर्थमन्त्रीले अर्थतन्त्र सुधार हुँदैछ भनेर गलत बोलिरहेको उनको दाबी छ । ‘अन्तर्राष्ट्रिय सहयोग तल झरेको छ । पूँजी पलायन भइरहेको छ, व्यवसायीको ढाड भाँच्ने अवस्था सृजना हुँदा पनि सरकार मूकदर्शक बनेको छ’, पौडेलले थपे ।

नेपाल तस्करी केन्द्रका रूपमा परिचित भएको भन्दै उनले क्विन्टल सुन प्रकरणमा सरकारले उच्चस्तरीय संसदीय समिति बनाउन आनाकानी गरेपनि एमालेको निरन्तर दबाबले गठन भएको बताए ।

नेता पौडेलले कोशीमा पटक-पटक गठबन्धन दलबाट कीर्ते भएको सबै प्रमाणले प्रष्ट पारेको बताए ।

प्रतिक्रिया दिनुहोस