चितवन। चितवन रत्ननगर नगरपालिका १३ भीमबहादुर चोक निवासी समर्पण लामाले भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ को उपाधि जितेका छन् । शनिबार रातीको ग्राण्ड फिनालेमा ट्रफी चुम्दै उनले १५ लाख भारु र उनका नृत्य निर्देशक भावना खन्डुजाले ५ लाख भारु नगदसहितका पुरस्कार जितेका हुन् ।
सोनी च्यानलबाट प्रसारित हुने इन्डियाज बेस्ट डान्सरमा अन्तिम पाँचमा छनोट भएका प्रतिस्पर्सर्धी सिवांशु सोनी, विपुल काँडपाल, अंकित चौहान, अञ्जली मामगाईलाई पछि पार्दै समर्पणले उपाधि हात पारेका हुन् ।जितपछि बोल्दै समर्पणले आफूलाई सपनाजस्तो लागिरहेको बताए ।
‘मलाई सपनाजस्तो लाग्दैछ । मैले सँधै रियालिटी शो हेर्थेँ र कुनै दिन यस्तै शोको हिस्सा बनूँ भन्ने चाहना राख्थें । तर मैले शो जितेको कल्पना पनि गरेको थिइनँ, यो साँच्चै सपना हो । मेरो लागि सत्य हो । जब म अनिकेत चौहान पछि उत्कृष्ट १३ मा छनोट भएँ, त्यो पल मेरो लागि विजयी क्षण थियो । शोमा म यतिसम्म आइपुग्छु भनेर सोचेको पनि थिइनँ ।’
‘यस प्रतियोगिताको क्रममा मैले सफलता र असफलता दुवैको स्वाद लिएको छु । असफलता पनि महत्वपूर्ण छ, किनकि यसले तपाईलाई धेरै कुरा सिकाउँछ, र यसले मलाई मेरो उत्कृष्ट दिन र थप मेहनत गर्न मद्दत गरेको छ । आज, त्यसैको कारण म राम्रो डान्सर बनेको छु । ‘इन्डियाज बेस्ट डान्सर सिजन ३’लाई मेरा शब्दले वर्णन गर्न सक्दैनन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, १२ : १५
लेखकबाट थप