विद्यालय शिक्षा विधेयकमा मैले मात्रै हाल्ने संशोधन ७० भन्दा बढी छ: गगन थापा

सफल खबर संवाददाता

शुक्रबार, ०५ असोज २०८०, १४ : १५
विद्यालय शिक्षा विधेयकमा मैले मात्रै हाल्ने संशोधन ७० भन्दा बढी छ: गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयकमा संशोधन हाल्न सुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताएका हुन् ।

उनले विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको भन्दै सांसदबाट सच्याएर मात्रै पारित हुने बताए ।उनले अहिले बनाउने कानुनले आजको समस्या मात्र नभई कम्तीमा २० वर्षसम्म हेर्नसक्ने गरेर कानुन बन्नुपर्ने बताए । उनले नेपालको शिक्षा क्षेत्र सुधार गर्न नेपालमा सबैभन्दा धेरै पारिश्रमिक शिक्षण पेसामा हुनेहरूले पाउनुपर्ने बताए ।

उनले शिक्षकले प्राप्त गर्नुपर्ने न्यूनतम कुरा अहिले कानुन बन्दै गर्दा पनि दिन नसके विद्यालयलाई शिक्षालाई उकास्न नसकिने बताए । सरकारले चाँडो भन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने थापाले बताए । 

उनले भने, ‘आज अप्ठ्यारो माहौल छ । विद्यालयहरू बन्द रहेको अवस्था छ । शिक्षक साथीहरू सङ्घर्षमा हुनुहुन्छ । हामी आज नेपाल सरकार र उहाँहरूको बीचमा संवाद पनि चलिरहेको छ । केही सकारात्मक निष्कर्ष आउँछ भन्ने हाम्रो विश्वास छ ।

हामी लामो समयदेखि नेपालको शिक्षाको सुधार गर्ने पक्षमा थियौँ । हामी के भनिरहेका थियौँ भने यो धेरै पहिला आइसक्नुपर्ने थियो । ओभरल शिक्षालाई हेर्ने एउटा कानुन धेरै पहिला आइसक्नुपर्ने थियो, त्यसमा हामी चुक्यौँ ।

म एउटा ल मेकर्स भएर काम गर्दा त्यो प्रथम दृष्टिमा हेर्दा नै सयौँ त्रुटि छन् । यो विधेयकमा संशोधन हाल्न सुरु भएपछि मैले मात्रै हाल्ने संशोधन मैले सरसर्ती हेर्दै गर्दा ७० भन्दा बढी रहेछन् । भनेपछि कति त्रुटि रहेछन् ? यसको यावत त्रुटिहरू छन् ।’ महामन्त्री थापाले सरकार शिक्षकबीचको वार्ताले सकारात्मक रुप लिने विश्वास लिएको बताए । 

प्रतिक्रिया दिनुहोस