अभिनेत्री जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी

शुक्रबार, ०५ असोज २०८०, ११ : ००
अभिनेत्री जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी । भारतको कोलकाता उच्च अदालतले बलिउड अभिनेत्री जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

सन् २०१८ को घटनाका विषयमा खानविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। उनीविरुद्ध ठगीको आरोप रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

कोलकातामा भएको दुर्गापूजामा पूर्वसहमतिअनुसार प्रस्तुति दिनुपर्ने तर उपस्थित नभएकाले आयोजकले उनीविरुद्ध अदालतमा याचिका दायर गरेका थिए।

साथै कोलकाता र त्यहाँका अन्य ६ वटा कालीपूजामा उनी उपस्थित नभएको बारेमा पनि उजुरी परेको थियो।पाँच वर्षअघि आयोजकले जरिनविरुद्ध कोलकाता प्रहरीमा ठगीको उजुरी दिएका थिए। त्यसपछि आयोजकले उनीविरुद्धको कानुनी प्रक्रिया अघि बढाएका थिए। 

अभिनेत्री जरिनले भने अदालतको आदेशबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरेकी छन्।

उनले भारतीय सञ्चारमाध्यम इन्डिया टुडेसँग भनिन्, ‘म ढुक्क छु, यसमा कुनै सत्यता छैन। म पनि अचम्ममा परेकी छु र मेरो वकिलसँग संवाद गरिरहेको छु। त्यसपछि मात्र म तपाईंलाई केही स्पष्ट कुरा बताउन सक्छु। तपाईं मेरो एचआरसँग कुरा गर्न सक्नुहुन्छ।’

जरिन २०१८ मा मुद्दाका क्रममा बयान दिन प्रहरीसमक्ष हाजिर भएकी थिइन्। ‘वीर, हेट स्टोरी २ र ३, हाउसफुल ३, रेडी’ जस्ता दर्जनौँ फिल्ममा काम गरेकी जरिन पछिल्लो समय फिल्मबाट टाढा छिन्।

उनले फिल्म रेडीमा समावेश ‘क्यारेक्टर ढिला हे’ बोलको आइटम गीतबाट सर्वाधिक चर्चा पाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस