काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।
आज रक्षा मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, रक्षा सचिव, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाल प्रहरीका कार्यवाहक प्रमुख सहभागी भएका थिए ।
छलफलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सुरक्षा निकाय प्रमुखसँग देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका छन् ।
खड्काले शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा समाजिक सद्भाव खल्बलिन नदिने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका छन् । साथै बजारमा दैनिक उपभोग्य समान सहज उपलब्ध हुने व्यवस्था मिलाउन, कालाबजारी र कृत्रिम अभाव तथा मूल्य वृद्धि हुनै नदिन थप प्रभावकारी व्यवस्थापन गरी नियमित अनुगमन गर्न निर्देशन दिएका छन् ।
नेपालीहरूका महत्त्वपूर्ण चाडपर्व नजिकिँदै गरेका कारण आपूर्ति व्यवस्थाको नियमितता र अनुगमनलाई समेत थप प्रभावकारी बनाउँदै कहिकतै आम नागरिक ठगिएको, कृत्रिम अभाव सृजना गरिएको पाइए तुरुन्त कारबाही गर्न निर्देशन दिएका छन् ।
सो अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न बहानामा द्वन्द्व बढाउने तथा समाजिक सद्भाव बिगार्ने प्रयास भइरहेकोले त्यसतर्फ सजक र सतर्क हुन सबै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
कार्यवाहक प्रधानमन्त्री खड्का र उपप्रधानमन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँगको छलफलका क्रममा राजनीतिक र अपराधिक घटनाहरू समयमै पहिचान गर्न तथा राजनीतिक गतिविधिको आवरणमा अपराधिक गतिविधि हुन सक्ने कुरामा ध्यान दिन निर्देशन दिएका छन् ।
छलफलमा मुख्य सचिव, गृह सचिव र रक्षा सचिवले समसामयिक विषयमा जानकारी गराएका थिए ।
यस्तै, आजै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज भेट गरेका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा पुगेर कार्यवाहक प्रधानमन्त्री खड्काले देशको समसामयिक विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ भदौ २०८०, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय
भुक्तानी माग्दै निर्माण व्यवसायीले बुझाए कार्यवाहक प्रधानमन्त्री सिंहलाई ज्ञापन