राप्ती लोकमार्ग मापदण्डअनुसार सुधार हुने मन्त्री ज्वालाको प्रतिबद्धता

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०८०, १८ : ५९
राप्ती लोकमार्ग मापदण्डअनुसार सुधार हुने मन्त्री ज्वालाको प्रतिबद्धता

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राप्ती लोकमार्गलाई पूर्ण मापदण्डअनुसार सुधार गरिने बताएका छन्। राप्ती लोकमार्गमा पछिल्लो समय अत्यधिक दुर्घटनाका कारण यात्रुले ज्यान गुमाएको भन्दै लोकमार्गको सुधारमा आफ्नो विशेष ध्यान केन्द्रित भएको बताए।

मन्त्री ज्वालाले यसै चालू आवमा काम सम्पन्न गर्ने गरी ९० करोड बजेट विनियोजन भई ठेक्का प्रक्रियामा रहेकाले लोकमार्गमा सुरक्षित यात्रा गर्ने वातावरण बनाउनु आफ्नो प्रमुख दायित्व भएको बताए। उनले राप्ती लोकमार्गको पूर्ण सुधारको काम सम्पन्न गर्न अनुमानित ३ अर्ब ६० करोडको बजेट लाग्ने देखिएकाले बजेट व्यवस्थाका लागि आवश्यक प्रक्रिया अघि बढाएको बताए।

कपुरकोटमा ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री ज्वालाले कपुरकोट बजारक्षेत्रको लोकमार्ग भासिँदै गएकाले यसको वैकल्पिक व्यवस्थाका लागि विज्ञहरूसँग छलफल भइरहेको बताए। उनले कपुरकोट, कोइला औद्योगिक सडकका कारण देखिएको समस्याको दीर्घकालीन समाधानका लागि उद्योग मन्त्रालयसँग छलफल गरेको बताए।

प्रतिक्रिया दिनुहोस