चितवन । आन्तरिक र विदेशी पर्यटकलाई भित्र्याउन सकेमा सुस्ताएको अर्थतन्त्र चलायमान हुने आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले धारणा राखेका छन् । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा आज यहाँ आयोजना गरेको छलफलमा सहभागीले कोभिडसँगै सुस्ताएको अर्थतन्त्र पर्यटनमार्फत चलायमान बनाउनुपर्ने बताएका हुन् ।
स्वदेशीसँगै विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुष्कर महर्जनले भरतपुरको भ्रमण वर्ष बागमती प्रदेशको समेत भ्रमण वर्ष भएकाले यसलाई सफल बनाउन प्रदेशले आवश्यक सहयोग गर्ने बताए।
नेपालमै भौतिक निर्माणमा अग्रणी रहेको भरतपुरमा भ्रमण वर्षमा पर्यटक भित्रिँदै गर्दा यहाँको आर्थिक गतिविधि चलायमान हुने उनको भनाइ थियो । भारतीय पर्यटक भित्र्याउनेमा आफूहरु लागिरहेको भन्दै उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रचारमा लाग्नुपर्ने बताए ।
सोही समयमा बागमती प्रदेशले समेत भ्रमण वर्षको आयोजना गरेकाले यहाँको गतिविधिले समग्र प्रदेशलाई नै फाइदा पुग्ने उनको भनाइ छ । कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षमा विदेशी पर्यटकलाई समेत भित्र्याएर ठप्प रहेको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताईन् । पालिकास्तरमा पहिलोपटक भ्रमण वर्ष मनाउन लागेको भन्दै उनले कसरी हुन्छ पर्यटक भित्र्याउनेमा सबैलाई एकजुट भएर लाग्न आग्रह गरिन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई बाघ र गैँडा देखाएर मात्रै पठाउने गरी तयारी थालेको उनले बताईन् ।
ऐतिहासिकस्थल दियालो बङ्गला खुल्ला गरी हेर्ने वातावरणका लागि गृहकार्य भइरहेको भन्दै उनले ठोरी भन्सार नियमित सञ्चालन गरेर भारतीय पर्यटक भित्र्याउने विषयमा कुराकानी भइरहेको जानकारी दिईन् । महानगरले भ्रमण वर्ष मनाउँदै गर्दा प्रमुख सडक मर्मत गरिने भन्दै उनले राष्ट्रियस्तरका गतिविधिहरु भरतपुरमा केन्द्रित गर्न सबैलाई आग्रह गरिन् ।
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगरभित्र सातवटा मुख्यसहित ३० वटा गन्तव्य रहेको भन्दै भ्रमण वर्षको तयारी तीव्र रुपमा भइरहेको बताए । प्रदेश र सङ्घसँग समन्वय गरी भ्रमण वर्षलाई सफल बनाउन विभिन्न समिति बनाएर काम गरिएको उनको भनाइ थियो । महानगरका पर्यटनविज्ञ डा विश्व सुवेदीले हालसम्म भएका गतिविधिका बारेमा जानकारी गराउँदै वार्षिक ३० हजार पर्यटक भित्रिने गरेको भरतपुरमा यो सङ्ख्या दुई लाख पु¥याइने बताए ।
विश्वका ५२ राष्ट्रमा भ्रमण वर्षका बारेमा जानकारी गराइएको उनको भनाइ थियो । कार्यक्रममा सहभागीहरुले भ्रमण वर्षलाई लक्षित गरी विभिन्न सुझावहरु दिएका थिए । सन् २०२४ को जनवरीबाट डिसेम्बरसम्म विभिन्न कार्यक्रमको आयोजना गरी भ्रमण वर्ष मनाइँदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम
सयपत्री र मखमली मालाको मूल्य निर्धारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड
आगामी एसईईको नतिजा सुधारमा जुट्यो भरतपुर महानगर, विद्यालयहरुले तोके लक्ष्य