धनकुटा, ७ पुस । गत वर्षको तुलनामा यस वर्ष (२०१७) मा धनकुटामा महिला हिंसाका घटना बढेको तथ्याङ्क सार्वजानिक भएको छ ।
बिहीबार धनकुटामा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले वार्षिक समीक्षा कार्यक्रममा गत वर्षको तुलनामा १० प्रतिशतले घरेलु हिंसाका घटनामा वृद्धि भएको जनाएको छ ।
जिल्लामा गैरराज्य पक्षबाट भएको ३८ घटनामध्ये ३३ वटा घरेलु महिला हिंसासम्बन्धी घटना रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । गत वर्षको पुस १५ देखि एक वर्षको अवधिमा पाँचवटा ज्यूज्यानसम्बन्धी गम्भीर प्रकृतिका घटनासहित ती घटनाहरु घटेको इन्सेकले प्रतिवेदनमा उल्लेख गरेको छ ।
मानवअधिकार वर्ष पुस्तक-२०१८ प्रकाशनका लागि सङ्कलित जिल्लामा भएका एक वर्षभरका घटनामा दुई हत्या, एक बलात्कार, दुई बहुबिबाह रहेका छन् भने विभिन्न पक्षबाट तीन दिन जिल्ला बन्द भएको थियो ।
जिल्लाका ग्रामीण क्षेत्रमा रोजगार, स्वास्थ्य, शिक्षा एवं मानवअधिकारका क्षेत्रमा सचेत बनाउने कार्यक्रम सञ्चालन गरिनुपर्ने सुझावसमेत समावेश गरी इन्सेक वर्ष पुस्तक-२०१८ का लागि प्रतिवेदन तयार गरिने जिल्ला शाखाका संयोजक सन्तोष रुचाले जानकारी दिनुभयो ।(रासस)
प्रतिक्रिया दिनुहोस