चीनले चुच्चे नक्सा बिनाको नेपाली नक्सा जारी गरेकोप्रति पूर्वसुरक्षाकर्मीहरुको आपत्ति, नक्सा तत्काल सच्याउन आग्रह

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०८०, १६ : ०६
चीनले चुच्चे नक्सा बिनाको नेपाली नक्सा जारी गरेकोप्रति पूर्वसुरक्षाकर्मीहरुको आपत्ति, नक्सा तत्काल सच्याउन आग्रह

काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले चीनले जारी नयाँ नक्सामा नेपालको भू–भागलाई भारततर्फ देखाएको भन्दै आपत्ति जनाएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिषद्ले चीनले आफ्नोसहित छिमेकी राष्ट्रहरुको नक्सा जारी गर्दा नेपालको भू–भाग भारतको नक्सामा देखाउनुले गम्भीर आशंका र दरार उत्पन्न गराएको बताएको हो । 

चीनले भू–राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्सालाई स्वीकार नगर्नु र उक्त भू–भाग भारततर्फ देखाउनु दुई देशबीचको मिलेमत्तोको आशंका उब्जिएको पूर्व सुरक्षाकर्मी परिषद्को ठहर छ । 

चीनद्वारा प्रकाशित त्रुटीपूर्ण नक्साले सम्पूर्ण नेपालीहरुको स्वाभिमान र आत्मसम्मानलाई ठेस पुर्याएको परिषद्को बुझाइ छ । चीनसँग नेपालको सदियौदेखि छुट्टै र विशेष घनिष्ट सम्बन्ध रहँदैआएको बताउँदै परिषद्ले चीनले जारी गरेको उक्त नक्सा सच्याउन आह्वान गरेको छ । 

पूर्वसुरक्षाकर्मी परिषद् नेपालका अध्यक्ष  कोमल बहादुर राउतले चीन र भारत दुई ठूला देशहरुले नेपाललाई सानो भनेर हेप्ने गरेको बताए । देशमा संकट आएको बेला पूर्व सुरक्षाकर्मी परिषद्ले निरन्तर आवाज उठाउँदै आएको उनले स्मरण गराए । उनले नेपाल र चीनबीचको सम्बन्ध एकदमै प्रगाढ रहेको बताउँदै उक्त नक्सा तत्काल सच्याउन पहल गरिनुपर्ने बताए । ‘पूर्वसुरक्षाकर्मी परिषद् नेपाल राष्ट्र र राष्ट्रियताका निमित्त खबरदारी गर्न कञ्जुस्याँई गर्दैन । छिमेकी राष्ट्रहरुको बीचमा हामी सानो छौं । तर, बलियो छौं । हामीलाई सानो भनेर हेप्ने कुरा भइरहेका छन्,’– उनले भने । 

पूर्वसुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय सदस्य एवं प्रवक्ता हेमशंकर गिरीले नेपालले मित्र राष्ट्र चीनमाथि अत्यन्तै भरोसा गरेको बताए । पूर्वसुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष खगेन्द्र बस्नेतले गौतम बुद्धको शान्तिको देशमा आफूहरुले शान्तिपूर्वक बस्न चाहेको बताए । सरकार र राजनीतिक दलहरुले राष्ट्र र जनताको हितमा काम गर्न नसकेको उनको भनाई छ । उनले छिमेकी राष्ट्रहरुलाई छिमेकीको स्थानमा बस्न र सानो भनेर नहेप्नका चेतावनी दिए । 

पूर्वसुरक्षाकर्मी परिषद् नेपाल केन्द्रीय सदस्य एवं चन्द्रागिरी नगर समितिका अध्यक्ष विक्रमबहादुर पाण्डेले चीनले नेपालको भू–भाग भारतको नक्सामा विलय गराएर सर्वाभौम सत्तामाथि प्रहार गरेको आरोप लगाए । आफूहरुले बारम्बार राष्ट्र र राष्ट्रियताको लागि खबरदारी गरिरहेको बताउँदै उनले राष्ट्र र राष्ट्रियताको लागि गठबन्धन सरकारलाई धेरै झक्झक्याउँदा केही सुन्न नचाहेको गुनासो गरे । 

 

प्रतिक्रिया दिनुहोस