किशोर किशोरीकोसाथमा परिवार नियोजनको साधन फेला पार्नु गलत होइन : गगन थापा

सफल खबर संवाददाता

बुधबार, ३० साउन २०७५, १५ : ३६
किशोर किशोरीकोसाथमा परिवार नियोजनको साधन फेला पार्नु गलत होइन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले किशोर किशोरीलाई समाउँदै गर्दा परिवार नियोजनको साधन भेटाएको भनेर मिडियामा आउने गरेकोमा आश्चर्य व्यक्त गरेका छन् ।

संसदमा प्रजनन स्वास्थ्यको अधिकारसम्बन्धी विधेयकमा छलफलका क्रममा सांसद थापाले प्रहरीले किशोर किशोरीलाई पक्राउ गर्दा परिवार नियोजनको साधन फेला पार्नुलाई गलत कामको रूपमा अर्थ्याएकोमा गृहमन्त्रीको ध्यानाकर्षण गराए । ‘परिवार नियोजनको साधन भेटाउनु भनेको गलत क्रियाकलाप हैन । सुरक्षाकर्मीहरूलाई यो ऐन आएको उहाँहरूलाई बताइदिनुहुन आग्रह गर्दछु’, थापाले भने ।

थापाले सुरक्षित मातृत्व र प्रजनन सम्बन्धी विधेयक महिलाहरुका लागि मात्रै नभएको बताए । ‘प्रजनन अधिकार किशोर किशोरीहरुका लागि पनि हो, यसकारण यो पुरुष र महिला दुवैको अधिकारको लागि हो, उनले भने ‘

उनले महिलाहरुको आत्मसम्मानका लागि जन्मदर्ता गर्दा बाबुको पहिचान अनिवार्य भन्ने प्रावधान हटाइनुपर्नेमा समेत जोड दिए ।

प्रतिक्रिया दिनुहोस