जनताको सेवामा लाग्न कोइरालाको आग्रह

सफल खबर संवाददाता

मंगलबार, २९ साउन २०७५, २० : ५०
जनताको सेवामा लाग्न कोइरालाको आग्रह

चितवन। नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई निष्ठावान भएर काम गर्न आग्रह गर्नु भएको छ । 
नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर १० ले मंगलबार भरतपुरमा आयोजना गरेको प्रजातन्त्रका सेनानी इश्वरीप्रसाद तिमिल्सिनाको १३ औं दिनको पुण्यतिथिमा आयोजित शोकसभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । 
काँग्रेसका नेता तथा कार्यकर्ताहरु निष्ठावान भएर जनताको सेवामा लग्नु पर्ने समय आएको भन्दै उहाँले सबैले तिमिल्सिनाले देखाएको बाटोमा लाग्न आग्रह गर्नु भयो । ८४ वर्षको उमेरमा निधन भएका तिमिल्सिनाका दुई छोरा, एक छोरी र एक श्रीमती छन् ।
तिमिल्सिनाको घरमा २०४६ सालको आन्दोलनको समयमा योजनाहरु बनाउने र दस्तावेज राख्ने काम भएको स्मरण गर्दै उहाँले काँग्रेस सधैँ तिमिल्सिनाले देखाउनु भएको बाटोमा लाग्ने बताउनु भयो । तिमिल्सिनाले २०१५ सालको आमनिर्वाचनदेखि हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको उहाँले बताउनु भयो । 
एक फरक प्रसंगमा बोल्दै उहाँले आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो शक्तिको रुपमा अघि ल्याउने गरी काम भइरहेको उहाँले बताउनु भयो । अहिले नेकपा सरकारले गरेको ज्यादतिको विरुद्धमा सबै कार्यकर्ताहरु एक हुनुपर्ने उहाँले बताउनु भयो । 
नेपाली काँग्रेसका वडा सभापति ध्रुवराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, राजीव न्यौपाने, पूर्वसांसदहरु भीमबहादुर श्रेष्ठ, सावित्री बोगटी पाठक, महासमिति सदस्यहरु प्रकाश अधिकारी राजेश्वर खनाल लगाएतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस