यी हुन् प्रभावकारी काम गर्न नसक्ने पाँच मन्त्री

सफल खबर संवाददाता

मंगलबार, २९ साउन २०७५, १७ : १२
यी हुन् प्रभावकारी काम गर्न नसक्ने पाँच मन्त्री

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारमा रहेका सबै मन्त्रीहरुको काम सन्तोषजनक पाइएको छैन । कम्युनिष्ट सरकारका मन्त्रीहरु कमाउनिष्ट भएको र उनीहरुले जनपक्षीय काम गर्न नसकेको भन्दै गुनासो बढ्न थालेको छ । सरकारले जनपक्षीय योजना ल्याउन नसकेको, कुनै पनि प्रभावकारी क्षमता देखाउन नसकेको भन्दै चौतर्फी गुनासो बढिरहेको छ । वर्तमान सरकारमा रहेर प्रभावकारी काम गर्न नसकेका पाँच जना मन्त्रीबारे चर्चा गर्नु सान्दर्भिक नै हुनेछ ।  
गृहमन्त्री रामबहादुर थापा बादलले समाप्त पारिदिएको यातायात क्षेत्रको सिण्डिकेटलाई ब्युँताउन खोज्ने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठ सिन्को भाँच्न नसक्ने मन्त्रीको सूचीमा पहिलो नम्बरमा छन् । उनले श्रीमती जुली महतोमार्फत कमाउ धन्दा चलाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष उजुरी नै पुगेको छ ।
उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री इश्वर पोखरेल पनि सेनाको ठेक्कापट्टामा आँखा लगाएर बसेका छन् । उनले पनि देखिने गरी कुनै काम गर्न सकेका छैनन् । रक्षामन्त्री पोखरेलले काठमाडौँ प्रहरी प्रमुख विश्वराज पोखरेललाई हप्ता असुलीको जिम्मेवारी दिएको स्रोतको दाबी छ । वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलमाथि काँडघारीको बालक अपहरण प्रकरणमा गलत म्यासेज पठाएर बालकको हत्या हुने वातावरण बनाएको आरोप छ ।
सधैँ विवादको घेरामा पर्दै आएका श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको कार्यशैली पनि औसतभन्दा माथि छैन । मलेसिया रोजगारीको विवाद चर्कंदै गएपनि समस्या समाधानका लागि ठोस पहल भएको छैन । म्यानपावर व्यवसायीसँग पैसा उठाएको आरोप उनीमाथि लागेको छ । सचिवालयका कार्यकर्ता परिचालन गरेर विष्ट पनि कमाउ धन्दामा लागेको बताइन्छ ।
वन तथा वातावरण मन्त्री रहेका शक्तिबहादुर बस्नेतले कुनै पनि प्रभावकारी काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । मन्त्रीहरुको कार्य सम्पादन मूल्यांकनमा बस्नेत रेड जोनमा परेका छन् । उनी मन्त्रालयमा कहिले आउँछन् ? कहाँ जान्छन् ? के गर्छन् भन्ने जानकारी कसैलाई नभएको भन्दै उनको विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष गुनासो पुगेको स्रोत बताउँछ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको कार्यशैली समेत प्रभावकारी हुन सकेको छैन । उनले पनि मन्त्री भएको पाँच महिनासम्म देखिने काम गर्न सकेका छैनन् । नेपाल आयल निगमको व्यवस्थापन सुधारमा ध्यान दिएका छैनन् । उद्योग प्रवद्र्धन तथा व्यवस्थापनमा समेत कुनै ध्यान दिएका छैनन् । मन्त्रीहरुले प्रभावकारी काम नगरेको भन्दै केही मन्त्री फेर्नुपर्ने निष्कर्षमा नेकपा पुगेको स्रोतको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस