काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेपाल बन्दको न्यून प्रभाव परेको छ । नेपाल बन्दको क्रममा विभिन्न स्थानमा नक्कली बम फेला परेका छन् ।
काठमाडौं उपत्यकामा भेटिएको सबै बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको छ । प्रहरीले गोदावरी नगरपालिकास्थित लेले बस्दै आएका कुमार सिलवाल, चापागाउ बस्ने चन्द्र परियार र महालक्ष्मी नगरपालिकाको लुभु बस्ने जयराम श्रेष्ठलाई पक्राउ गरेको छ । काठमाडौंको जमलमा प्रेशर कुकर बम राख्न जादै गर्दा प्रहरीले विप्लका दुई कार्यकर्तालाई बमसहित नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत दरबारमार्गबाट खटिएको प्रहरीले चेकिङको क्रममा अखिल क्रान्तिकारी विप्लव समुहको केन्द्रिय सदस्य उषा किरण आजाद र अखिल नपाल महिला संघ क्रान्तिकारीका उपत्यका सचिव तारा सञ्जेल राउत पक्राउ गरेको हो ।
चितवन, झापा, बझाङ, रोल्पा, मकवानपुर लगाएतका विभिन्न जिल्लाहरुमा प्रेसर कुकर बम, रिमोट बम र प्लाष्टिकमा पोको पारिएका शंकास्पद बस्तु नेपाल प्रहरी र नेपाली सेनाको प्राविधिक टोलीले निष्क्रिय पारेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नुवाकोटमा गाडीमा तोडफोड र आगजनी गरेको छ । एउटा गाडीमा आगजनी र दुईवटा गाडीमा तोडफोड हुदा लाखौंको क्षति भएको छ । बालुबा बोकेर काठमाडौँतर्फ आउदै गरेको बा४ख ८५१६ नम्बरको मिनीट्रकमा आगजनी गरिएको हो । विप्लव कार्यकर्ताले बा ५ ख २१३० र बा ५ ख २१३२ नम्बरको ट्रकमा समेत तोडफोड गरेको छ ।
आगजनी र तोडफोडमा संलग्नको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । घटनामा संलग्न विप्लवका कार्यकर्ता र गाडीका चालकबीच केहीबेर झडपसमेत स्थानियले बताएका छन् । त्यसैगरि अज्ञात समूहले महेन्द्रराजमार्ग अन्तरगत पूर्वी नवलपरासीको गैंडाकोटमा रोकिराखेका २ वटा ट्रकमा आगजनी गरेका छन् । महेन्द्रराजमार्गको रत्न पेट्रोलपम्प नजिक रोकिरहेको ना २ ख २५४८, ना २ ख ८४८७ पराल बोकेको गाडिमा आगजनी गरेको हो । शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । देशभरकै सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०७५, १७ : ०८
लेखकबाट थप