कुनमिङ (चीन) । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसियाबीचको पुलको रूपमा रहेकाले यो क्षेत्रको समृद्धिमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने बताएका छन् ।
चीनको कुन्मिङमा आयोजित १६औँ चीन–दक्षिण एसिया व्यापार मञ्चको अध्यक्षको रूपमा समेत सम्बोधन गर्दै अध्यक्ष ढकालले चीन र दक्षिण एसियाली क्षेत्रबीच बृहत्तर सहयोगका लागि थप सहकार्य तथा साझेदारी सुदृढ गर्नु पर्ने बताएका हुन् ।
सम्बोधनमा अध्यक्ष ढकालले विश्व परिदृश्यमा देखिएका जटिलतालाई सामना गर्दै अघि बढ्न क्षेत्रीय तथा उपक्षेत्रीय अन्तर निर्भरतालाई थप बलियो बनाउनु पर्ने पनि उल्लेख गरे।
साझा आर्थिक लाभ र आपसी लगानी वृद्धिमा आधारित सहकार्यले मात्र अहिलेका चुनौतीहरूलाई समाधान गर्न सकिनेमा अध्यक्ष ढकालले जोड दिए। अध्यक्ष ढकालले लगानीका लागि नयाँ क्षेत्र पहिचान गर्ने, पर्यटन प्रवर्द्धन, आपसी व्यापार अभिवृद्धि र औद्योगिक साझेदारीलाई थप सुदृढीकरणका लागि समेत आह्वान गरे ।
विश्व अर्थतन्त्रमा देखिएका अनिश्चितताहरू कम गर्न, द्वन्द्व र जलवायु परिवर्तनले सृजना गरेको महामारी र आपूर्ति शृङ्खलामा देखा परेका अवरोधहरूबाट जोगाउन सक्ने बलियो रणनीति तयार गर्न आपसी सहकार्य बढाउनु पर्ने पनि अध्यक्ष ढकालले बताए।
दक्षिण एसियाली क्षेत्रमा बजारको पर्याप्त सम्भावना रहे पनि कमजोर यातायात तथा आपूर्ति पूर्वाधार र व्यापार सहजीकरण नहुँदा आर्थिक वृद्धि प्रभावित भएको अध्यक्ष ढकालको भनाइ थियो ।
दक्षिण एसियाको जनसाङ्ख्यिक लाभांश उपयोग गर्ने तथा प्रचुर प्राकृतिक स्रोतको उपयोग गर्न पनि चीन र दक्षिण एसियाली क्षेत्रले ढिलाइ गर्न नहुने अध्यक्ष ढकालको धारणा थियो । यसबाट दक्षिण एसियाली मुलुकहरू र चीनबिचको अन्तर क्षेत्रीय लगानी प्रवाह र व्यापार बढाउन सकिने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
डिजिटल अर्थतन्त्रमा एकाकार हुने तथा आपूर्ति र औद्योगिक श्रृखलाहरुको साझेदारी, कृषि, पर्यटन, नवीकरणीय ऊर्जा, खानी, पूर्वाधार, आइसिटी, जडीबुटी र औषधि उत्पादन लगायतका महत्त्वपूर्ण क्षेत्रहरूमा चीनको विशेषज्ञतालाई प्रविधि र लगानीको हस्तान्तरणबाट नेपाल सहित दक्षिण एसियाले लाभ लिन सक्ने अध्यक्ष ढकालले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ भदौ २०८०, १८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्यमा आचार्य मनोनित