प्रतिनिधिसभा बैठकमा कसले के भने ?

सफल खबर संवाददाता

सोमबार, २८ साउन २०७५, १७ : २६
प्रतिनिधिसभा बैठकमा कसले के भने ?

काठमाडौँ । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले आ–आफ्नो क्षेत्रको समस्याका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद उमाकान्त चौधरीले बारा जिल्लामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकको काम अघि बढ्न नसकेको भन्दै दुवै आयोजनाको स्थितिबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

सांसद कृष्णप्रसाद दाहालले राजधानीलाई जोड्ने बैकल्पिक राजमार्ग कान्ति राजमार्गको काम सम्पन्न हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै समयमा काम सम्पन्न गर्न नसक्ने ठेकेदारलाई कारवाहीको माग गर्नुभयो ।

सांसद कृष्णभक्त पोखरेलले  संविधानको धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त बासस्थानको व्यवस्था हुने उल्लेख भएकाले आवश्यक कानुन निर्माण गरी आगामी असोज ३ गतेभित्र असुरक्षित बसोबास गरिरहेकालाई सुरक्षित स्थानमा सार्छु भनि संकल्प गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद खगराज अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थल समयभित्रै सम्पन्न गर्ने तर्फ तदारुकता देखाउन सरकारको ध्यानाकर्र्षण गराउनुभयो । उहाँले विमानस्थल निर्माणमा अवरोध पुर्याउन प्रयास गर्नेलाई कारवाही गर्न पनि माग गर्नुभयो ।

सांसद गगन थापाले आगामी भदौ १४ र १५ गते राजधानीमा हुन लागिरहेको बिमेस्टेक शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी पाहुनालाई एउटै होटलमा नराखी फरक फरक होटलमा राख्न तथा राजधानीको सडक अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद घनश्याम खतिवडाले मोरङ जिल्लाको उत्तरमा रहेको चिस्यान खोला र बक्राहा खोलामा निर्माणाधिन पुल र लेटान ६ नम्बर बुधबारे मोटर बाटो तथा उर्लाबारी मधुमल्ला रबि बाटो निर्माणमा ठेकेदारको लापरवाही देखिएको भन्दै ठेक्का लिएर पनि समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई आवश्यक कारवाही गर्न माग गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस