दुईवटा वाइड बडी विमान खरिदका बारेमा बोले मन्त्री अधिकारी, अनुसन्धानमा दोषी पाइए कारवाही गरिन्छ

सफल खबर संवाददाता

सोमबार, २८ साउन २०७५, १६ : ०९
दुईवटा वाइड बडी विमान खरिदका बारेमा बोले मन्त्री अधिकारी, अनुसन्धानमा दोषी पाइए कारवाही गरिन्छ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले जहाज खरिदका क्रममा विगतमा भएको प्रक्रियाबारे अध्ययन अनुसन्धान भइरहेको र दोषी पाइए कारवाही हुने बताएका छन् ।

प्रतिनिधिसभाको सोमवारको बैठकमा सभामुखसँग समय लिएर मन्त्री अधिकारीले वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिदको सम्बन्धमा प्रश्न उठेपछि मन्त्रालयले सुक्ष्म ढंगले छानबिन शुरु गरेको बताए ।

दुईवटा जहाज खरिदका सन्दर्भमा भर्खरै पनि माननीय सदस्यले प्रश्न गर्नुभयो । केही प्रश्न बाहिर पनि उठेका छन् । जहाज खरिदको लामो प्रक्रिया छ । लामो प्रक्रिया पूरा गरेर दुईवटा विमान आएका छन् ।

खरिद प्रक्रियाको सम्बन्धमा मन्त्रालयले सुक्ष्म ढंगले अध्ययन र अनुसन्धान गरिरहेको छ । हाम्रो अध्ययनपछाडि सदनलाई जानकारी गराउँछु ।ʼ मन्त्री अधिकारीले भने, ʻअरु थप जहाज आवश्यक छ । मुख्य कुरा निगमको विमानलाई संसारका विभिन्न ठाउँमा पुर्‍याउनु र प्रतिष्ठालाई माथि उठाउनु आजको आवश्यकता हो । गलत छ, छानबिन र कारवाहीको दायरामा आउँछ, एयरलाइन्स निर्वाद् रूपमा अगाडि बढ्छ ।ʼ

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण, निजगढ, भैहरवा, गौतमबुद्ध तथा पोखरास्थित विमानस्थल निर्माणको प्रगति, सम्पदा पुननिर्माण लगायतबारे सदनलाई जानकारी गराए ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण गरि २४ सै घण्टा सञ्चालनमा आउने प्रबन्ध मिलाउन लागेको जानकारी गराए । मन्त्री अधिकारीले बर्षादपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सुरु गरिने र सो सम्पन्न भएलगत्तै सन् २०१९ को फेबु्रअरीको दोश्रो हप्तादेखि दैनिक ८ घण्टा उडान अवतरण वन्द गरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सुरु गरिने बताए । २०१९ जुन सम्म धावनमार्ग निर्माणको काम सम्पन्न गर्ने योजना मन्त्रालयले अघि सारेको पनि उनले जानकारी दिए । नेपाल वायुसेवा निगमको उडान र सेवाको प्रभावकारिता बढ्दै गएको पनि उनले दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस