गण्डकी प्रदेशसभाको बैठक स्थगित

सफल खबर संवाददाता

सोमबार, २९ साउन २०८०, १३ : २७
गण्डकी प्रदेशसभाको बैठक स्थगित

 पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रमका लागि सोमबार पोखरामा गण्डकी प्रदेशसभाको बैठक स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठक सचना टाँस गरेर स्थगित गरिएको छ ।

सभामुख कृष्ण धितालले राप्रपाका प्रदेशसभा सदस्यहरुको आग्रहमा बैठक स्थगित गरिएको बताए । ‘राप्रपाका माननीयले आग्रह गर्नुभयो, अरु दलका साथीहरुले पनि ठिकै छ भन्नुभयो र बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ,’ उनले भने ।

राप्रपाले सोमबार आफ्नो कार्यकर्ता भेलाका लागि अध्यक्ष राजेन्द्र लिङ्देन आउने भन्दै प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरेको थियो । राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले पार्टी अध्यक्ष लिङ्देन आउने भनेर प्रदेशसभा बैठक स्थगित गर्न भनिएको तर मौसमका कारण उनी पनि नआएको जानकारी दिए । राप्रपाले यो कार्यक्रम मंगलबारका लागि सारेको छ ।

सोमबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संबोधन गर्ने, शून्य तथा विशेष समयमा सांसदले भनाइ राख्ने गरी छलफल भएको थियो ।तर मुख्यमन्त्री पाण्डेले आफ्नो तयारी नपुगेको बताएका थिए भने सरकारले अरु बिजनेससमेत दिएको थिएन ।

नेकपा एमालेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, लम्पी स्किन रोग नियन्त्रण तथा खोपको व्यवस्था र आँखा पाक्ने रोगबारे संसदमा छलफल हुनुपर्ने भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

मंगलबार संसदीय समितिको गठनसमेत गर्ने तयारी छ । गण्डकी प्रदेश सभामा ४ वटा संसदीय समिति छन् । जसमध्ये ६० सदस्यीय प्रदेश सभाका ३ वटामा १५/१५ जना र एक वटामा १३ जना रहने छन् ।

पहिलेको विधायन समिति खारेज भएको छ भने अन्य समितिको क्षेत्राधिकार परिवर्तन भएको छ । नियमावली मस्यौदा समितिले पुरानो व्यवस्थालाई हटाएर सबै समितिमा विधेयक छलफलका लागि जाने गरी क्षेत्राधिकार तोकेको छ ।

सार्वजनिक लेखा, अर्थ तथा विकास, प्रदेश मामिला तथा कानुन समिति र सामाजिक विकास तथा कृषि समिति रहने छन् ।

प्रतिक्रिया दिनुहोस