रत्ननगरमा भएको रत्न प्रिय क्लबको रक्तदानमा ७९ युनिट रगत संकलन

सफल खबर संवाददाता

शनिबार, २७ साउन २०८०, १६ : ११
रत्ननगरमा भएको रत्न प्रिय क्लबको रक्तदानमा ७९ युनिट रगत संकलन

चितवन। रत्ननगर नगरपालिका–९ मा रहेको रत्न प्रिय क्लबको प्रथम वार्षिकउत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम भएको छ ।‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो, स्वस्थ रहौं, समृद्ध बनौं’ भन्ने मूल नाराका साथ रत्न प्रिय क्लबको आयोजना तथा रत्ननगर नगरपालिका वडा नं. ९ को सहआयोजनामा रक्तदान कार्यक्रम भएको हो। कार्यक्रममा ७९ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष बसन्त राना मगरले जानकारी दिए ।

राना मगरका अनुसार ७४ पुरुष र ५ जना महिलाले रक्तदान गरेका थिए । चितवनमा रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गरिएको उनले बताए ।कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख पल्हाद सापकोटाले चितवनमा मात्रै नभईकन देशैभर रगत अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम गर्नु प्रशंसनीय भएको बताए । उनले भने, ‘हरेक चिज बनाउन चाहेमा बनाउन सकिन्छ । रगत बनाउन सकिदैन, रगत अति आवश्यक छ ।’

रत्न प्रिय क्लबले लागुऔषध नियन्त्रण, ट्राफिक सचेतना, सरसफाई, खेलकुदलगायत सामाजिक क्षेत्रहरुमा थुप्रै उदाहरणीय कार्यहरु गरिरहेको उनले बताए । रत्ननगर वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारीले सामाजिक क्षेत्रमा धेरै कार्यक्रम गर्ने क्लबले रक्तदान कार्यक्रमलाई पनि निरन्तरता दिएकोमा आयोजकलाई धन्यवाद दिँदै यस्ता कार्यक्रममा वडा कार्यालयले सधै सहयोग गर्ने बताएका थिए ।

बालुवाटार विपत् व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलले यस प्रकारको रक्तदानले धेरैको जीवन बच्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा योगदान राष्ट्रको लागि रत्ननगरका अध्यक्ष लक्ष्मण पौडेल, समाजसेवी ज्ञानेन्द्रराज पाण्डे, एनिमल वेलफेरका प्रतिनिधि रामचन्द्र आचार्य लगायतको उपस्थिति थियो । क्लबका सचिव विजय लामाले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक विशाल ओझाले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस