भारतकी देविका पालशिकर नेपाली महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक

सफल खबर संवाददाता

आइतबार, २१ साउन २०८०, १२ : ०७
भारतकी देविका पालशिकर नेपाली महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक

काठमाडौँ । भारतकी देविका दिलिप पालशिकर नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा जोडिएकी छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, ४४ वर्षीया पालशिकर नेपालको सिनियर राष्ट्रिय महिला टोलीसँग सल्लाहकार ब्याटिङ प्रशिक्षकका रुपमा जोडिएकी हुन् ।

नेपालको सिनियर राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकका रुपमा नियुक्त हुने पालशिकर पहिलो विदेशी हुन् । भारतीय टोलीकी पूर्वखेलाडी पालशिकर विगत लामो समयदेखि प्रशिक्षकको भूमिकामा सक्रिय छिन् । 

आफ्नो समयकी अलराउन्डर खेलाडी पालशिकरले भारतका लागि टेस्ट र एकदिवसीय दुबै प्रतियोगिता खेलेकी थिइन् । उनी पछिल्लो १० वर्षयता प्रशिक्षकको भूमिकामा सक्रिय छिन् । ब्याटिङ प्रशिक्षकका रुपमा पालशिकरको संलग्नताले नेपाली खेलाडीको क्षमता अभबृद्धिमा मद्दत पुग्ने विश्वकप क्यानले लिएको छ । 

पछिल्लो समय नेपालको राष्ट्रिय महिला क्रिकेट टोली टीट्वान्टी विश्वकप छनोट प्रतियोगिताको तयारीमा ब्यस्त छ । टीट्वान्टी विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगिता अगस्त २८ देखि सेप्टेम्बर ६ तारिखसम्म मलेसियामा आयोजना हुँदैछ ।  विश्वकपको एसियाली छनोटमा नेपालसहित ११ राष्ट्रको सहभागिता रहने छ ।एसियाली छनोटमा नेपालका अतिरिक्त आयोजक मलेसिया, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई), हङ्कङ, भुटान, चीन, बहराइन, कुवेत, कतार र म्यानमारले प्रतिस्पर्धा गर्नेछन् ।

एसियाली क्षेत्रको छनोटमा सहभागी अधिकांश टोली नेपालका लागि चिरपरिचित प्रतिद्वन्द्वी हुन् । नेपालले यसअघि पनि विभिन्न प्रतियोगितामा यी प्रतिद्वन्द्वीलाई हराइसकेको छ । एसियाली क्षेत्रको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने दुई टोली ग्लोबल क्वालिफायर (विश्वस्तरिय छनोट प्रतियोगिता) मा प्रवेश गर्नेछ । 

विश्वस्तरिय छनोट प्रतियोगिता भने सन् २०२४ मा हुनेछ । विश्वस्तरिय छनोट प्रतियोगितामा दुई बलिया टोली श्रीलंका र आयरल्यान्डका अतिरिक्त विभिन्न महादेशबाट छनोट भएर आएका टोलीहरुको सहभागिता रहने छ ।

विश्वस्तरिय छनोट प्रतियोगितामा एसियाबाट छनोट भएका दुई, अफ्रिकाबाट छनोट भएका दुई, युरोपबाट छनोट भएका दुई, अमेरिकाबाट छनोट भएको एक, इस्ट एसिया प्यासिफिक क्षेत्रबाट छनोट भएको एक टोलीले सहभागिता जनाउने छन् ।   

विश्वस्तरिय छनोट प्रतियोगिताबाट दुई टोली महिला टीट्वान्टी विश्वकपमा छनोट हुनेछन् । महिला विश्वकप क्रिकेट सन् २०२४ मा बंगलादेशमा आयोजना हुँदैछ । महिला विश्वकपमा १० टोलीको सहभागिता रहने छ । हालसम्म महिला विश्वकपमा सहभागी हुने ६ टोलीको टुंगो लागिसकेको छ ।ती ६ टोलीमा अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्टइन्डिज रहेका छन् ।

प्रतिक्रिया दिनुहोस